काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफ्ना माग ४८ घण्टाभित्र पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनी दिएका छन् ।
आइतबार मुख्यमन्त्री हिक्कमतकुमार कार्कीलाई ९ बुँदे स्मरणपत्र बुझाउँदै कार्कीले आफू नेतृत्वको सरकारले ल्याएको कार्यक्रम वर्तमान सरकारले कटौती गरेकोमा उक्त चेतावनी दिएका हुन् ।
‘मेरो नेतृत्वको सरकारले जनताले तिरेको राजस्व जनतालाई नै अर्पण गर्ने नीतिअनुसार जनकेन्द्रित बजेट ल्याएको हो। सरकारका विकास कार्यक्रम सीधै तल्लो तहका जनता र भुईंमान्छेसित पुग्ने गरी त्यस सरकारले बजेट प्रस्तुत गरेको थियो। त्यसैले प्रदेशसभाबाट सर्वसम्मतिले बजेट पारित हुनसकेको हो तर वर्तमान प्रदेश सरकारका तपाईं माननीय मुख्यमन्त्री हिक्मत कार्कीले ती सबै जनहितकारी कार्यक्रम कटौती गरेर जनविरोधी कृत्य गर्नुभएको छ ।’ उनको पत्रमा उल्लेख छ ।
१० वर्षमुनिका बालबालिकाकाका लागि सेवासहित निःशुल्क उपचार, बजेटमा २५ लाख रुपैयाँभन्दा तलका आयोजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घिउ तथा धुलो दूध निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति‚ डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति तथा जनावरमैत्री जंगल कार्यक्रम वर्तमान सरकारले कटौती गरेको पूर्वमुख्यमन्त्री कार्कीको आरोप छ।





























प्रतिक्रिया