काठमाडौं । ९२ वर्षे फुटबलको इतिहासमा हालसम्म २७ बाबु–छोराले फिफा विश्वकपमा सहभागीता जनाएको रोचक तथ्यबारे तपाईंलाई थाहा छ ? फिफा विश्वकपमा सहभागी इतिहासको पहिलो बाबु–छोराको जोडी हो, मेक्सिकोका लुइस पेरेज र मारियो पेरेज ।
विश्व फुटबलमा “पिचोजोस” उपनामले परिचित लुइस पेरेजले सन् १९३० मा उरुग्वेमा आयोजित प्रथम विश्वकपमा मेक्सिकोको प्रतिनिधित्व गर्दै फ्रान्स र चिलीविरुद्ध खेलेका थिए । उनका छोरा मारियो पेरेज ग्वाडारामाले भने सन् १९७० मा मेक्सिकोमै आयोजित विश्वकपमा भाग लिएका थिए, जहाँ मेक्सिकोले क्वार्टरफाइनलसम्मको ऐतिहासिक यात्रा तय गरेको थियो ।
२७ जोडीमध्ये सबैभन्दा चर्चित र पदक जित्ने एकमात्र बाबु–छोरा थुराम परिवार हो । जहाँ बुवा लिलियन थुरामले सन् १९९८ को विश्वकपमा फ्रान्सलाई पहिलो पटक विश्वकप जिताउन निर्णायक भूमिका खेलेका थिए भने सन् २०२२ मा लिलियनका छोरा मार्कस थुरामले कतार विश्वकपमा फ्रान्सको प्रतिनिधित्व गर्दै उपविजेता बनेर रजत पदक जितेका थिए । यस उपलब्धिसँगै उनीहरू विश्वकपको फाइनल खेल्ने पहिलो बाबु–छोरा जोडी बनेका थिए । यदि पेनाल्टी सुटआउटको नतिजा फ्रान्सको पक्षमा आएको भए, थुराम परिवार विश्वकप विजेता बन्ने पहिलो बाबु–छोरा पनि बन्न सक्थे ।
पदक जित्ने मात्र नभएर रक्षापंक्तिको विरासत जोगाउने माल्दिनी बाबु–छोरा पनि फिफा विश्वकपमा खेलिसकेका छन् । सन् १९६२ मा बाबु चेजारे माल्दिनीले विश्वकपमा इटालीको कप्तानी गरेका थिए । एसी मिलानका महान् खेलाडी रहेका उनले पछि प्रशिक्षकका रूपमा पनि इटालीलाई सन् १९९८ को विश्वकपमा डोर्याएका थिए । उनका छोरा पाओलो माल्दिनीलाई विश्व फुटबलकै सर्वकालीन महान् डिफेन्डरमध्ये एक मानिन्छ । उनले चारवटा विश्वकप सन् १९९०, १९९४, १९९८ र २००२ मा इटालीको प्रतिनिधित्व गरेर थिए । त्यति मात्र होइन चेजारे माल्दिनीका नाति र पाओलो माल्दिनीका छोरा ड्यानियल माल्दिनी पनि उदीयमान प्रतिभाका रूपमा अघि बढिरहेका छन्, जसले माल्दिनी परिवारको तेस्रो पुस्तालाई विश्वकपमा पुर्याउने पक्का जस्तै भईसकेको छ ।
रक्षापंक्तिपछि फिफा विश्वकपमा गोलकिपिङ गर्ने बाबु छोरा पनि खेलेका छन् । पिटर श्माइकल आफ्नो पुस्ताका सर्वोत्कृष्ट गोलकिपरमध्ये एक मानिन्छन् । उनले म्यानचेस्टर युनाइटेडका लागि उत्कृष्ट प्रदर्शन गर्दै डेनमार्कलाई सन् १९९८ को विश्वकपको क्वार्टरफाइनलसम्म पुर्याएका थिए । उनैका छोरा कास्पर श्माइकलले सन् २०१८ को विश्वकपमा क्रोएसियाविरुद्धको खेलमा तीन पेनाल्टी बचाएर आफ्नो क्षमता प्रदर्शित गरेका थिए ।
रक्षापंक्ति र गोलकिपिङ गर्ने बाबु छोरापछि दुई राष्ट्रको प्रतिनिधित्व गर्ने बाबु छोरा हुन् माजिन्हो अल्कान्टारा र थियागो अल्कान्टारा । बाबु माजिन्होले सन् १९९४ को विश्वकप जित्दा ब्राजिलका लागि खेलेका थिए भने उनका छोरा थियागो अल्कान्टाराले सन् २०१८ को विश्वकपमा ब्राजिललाई छाडेर स्पेनको प्रतिनिधित्व गरेका थिए । बाबु–छोराको यो जोडी दुई फरक राष्ट्रबाट विश्वकप खेल्ने दुर्लभ उदाहरणमध्ये एक हुन् ।
त्यसैगरी अब कुरा गरौँ तीन पुस्तासम्म विश्वकप खेल्ने मेक्सिकोका हर्नान्डेज परिवारबारे जानौँ । सन् १९५४ को विश्वकपमा टोमस बाल्काजारले फ्रान्सविरुद्ध गोल गरेका थिए । त्यस्तै उनका ज्वाइँ जाभियर हर्नान्डेज गुटिएरेजले सन् १९८६ को विश्वकपमा मेक्सिकोको प्रतिनिधित्व गरे भने तेस्रो पुस्ताका जाभियर हर्नान्डेज बाल्काजारले सन् २०१०, २०१४ र २०१८ गरी तीनवटा विश्वकप खेलेका छन् ।
समग्रमा फिफा विश्वकप २०२६ यहि जेष्ठ २८ देखि साउन ३ गतेसम्म संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ । यस संस्करणमा थुप्रै बाबु–छोरा जोडीहरूको सहभागिताले यो सूचीमा थप नयाँ नामहरू जोडिने सम्भावना छ । मार्कस थुराम, जियोभानी रेना र कास्पर श्माइकल जस्ता खेलाडीहरू पुनः विश्वकपमा देखिनेछन् । साथै, ड्यानियल माल्दिनीजस्ता युवा प्रतिभाहरूको सम्भावित सहभागिताले माल्दिनी परिवारलाई विश्वकप खेल्ने पहिलो तीन–पुस्ते परिवार बनाउन सक्छ ।
त्यति मात्र होइन विश्वकपमा बाबु–छोराको उपस्थितिले फुटबल खेलमा वंश, विरासत र पारिवारिक परम्पराको गहिरो प्रभावलाई उजागर गरेको छ । विश्वकप २०२६ नजिकिँदै गर्दा, फुटबल जगत् फेरि एक पटक पारिवारिक विरासतका नयाँ अध्यायहरू लेखिने प्रतीक्षामा छ ।





























प्रतिक्रिया