काठमाडाैं । सर्वोच्च शिखर सगरमाथा क्षेत्रको अत्यधिक प्रतिकूल र चुनौतीपूर्ण मौसममा ६ दिन बेपत्ता भएका ५७ वर्षीय दावा शेर्पाको जीवितै उद्धार गरी हाल काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ ।
अस्पतालका अनुसार, उद्धार गरी अस्पताल ल्याइपुर्याउँदा शेर्पामा कडा खालको जलवियोजन देखिएको थियो। साथै, अत्यधिक चिसोका कारण उनका दुवै हातका कान्छी औंलाहरू ग्रेड २ फ्रोस्टबाइट अर्थात् चिसोले खाएको र दाहिने हातको बुढी औंला तथा माझी औंलामा ग्रेड १ फ्रोस्टबाइट भएको पाइएको छ। यसका अतिरिक्त उनको दाहिने घुँडाको हड्डीमा गम्भीर चोट लागेकाे र तिघ्राको भित्री मांसपेशीमा रगत जमेको अवस्था फेला परेको छ।
हाल उनलाई अस्पतालको आईसियुमा राखेर बहु-विशेषज्ञ टोलीको प्रत्यक्ष निगरानीमा बृहत् उपचार सेवा प्रदान भइरहेको ह्याम्स अस्पतालले जनाएकाे छ । शेर्पालाई फ्रोस्टबाइटको उपचारका लागि इन्ट्राभेनस इलोप्रोस्ट थेरापी, थप अक्सिजन, नशाबाट दिइने तरल पदार्थ र अन्य आवश्यक सहयोगी उपचारहरू दिइँदै आएको छ।
अस्पतालका अनुसार हाल शेर्पाको स्वास्थ्य अवस्था स्थिर रहेको छ भने पानीकाे कमी भएकाे शरीरमा राम्रो सुधार देखिएको छ। थप उपचार र निरन्तर निगरानीका लागि उनलाई अझै केही दिन आइसियूमै राखिने अस्पतालले जनाएको छ।





























प्रतिक्रिया