काठमाडौँ
चालु आर्थिक वर्षको ८ महिनामा पुँजीगत खर्च ३३.५८ प्रतिशत मात्र भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस अवधिमा ८९ अर्ब मात्रै पुँजीगत खर्च भएको हो । यो विनियोजित रकमको ३३.५८ प्रतिशत हो ।
सरकारको लक्ष्य अनुसार दोस्रो चौमाससम्म ६० प्रतिशत पुँजीगत खर्च भइसक्नु पर्ने हो । आर्थिक वर्षको अन्तिम चौमास मात्रै बाँकी छ । जस अनुसार असार मसान्तसम्म बाँकी ६६.४२ प्रतिशत रकम खर्च गरिसक्नु पर्नेछ ।
पछिल्लो समय बजेटको मध्यावधि समीक्षा गर्दै अर्थमन्त्रीले पुँजीगत खर्चतर्फ विनियोजित तीन खर्ब १३ अर्ब रुपैयाँमध्ये ८४.५ प्रतिशत अर्थात् दुई खर्ब ६५ अर्ब रुपैयाँ मात्र खर्च हुने तथ्यांक प्रस्तुत गरे ।
समीक्षामा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले समीक्षा अवधिभर तीन पटकसम्म पुँजीगत खर्च बढाउने विषयमा सम्बन्धित मन्त्रालयसँग बैठक बसेको बताएका थिए । आठ महिनाको अवधिमा पुँजीगत खर्च व्यवस्थापनका लागि राष्ट्रिय तथा उच्च प्राथमिकता प्राप्त आयोजना जस्तै मध्यपहाडी, हुलाकी राजमार्ग, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा सडक पुल आयोजनाका लागि ८ अर्ब रुपैयाँ रकम निकासा गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
सात वर्षको बजेट स्थिति अनुसार पुँजीगत खर्चको ७० प्रतिशत वा सो भन्दा बढी खर्च अन्तिम चौमासमा हुने प्रवृत्ति छ । संशोधन हुनुपूर्वको अनुमानलाई आधार लिने हो भने यो प्रवृत्तिकै निरन्तरता देखिन्छ । यथार्थ पुँजीगत बजेट अनुसार यस अवधिमा खर्च २७ प्रतिशत मात्रै छ ।































प्रतिक्रिया