महोत्तरी । भारतीय सीमा नजिकको ग्रामीण बस्तीमा सञ्चालित यहाँको एक अस्पतालले दूरबिन प्रविधिबाट पित्तथैलीको पत्थरीको शल्यक्रिया थालेको छ । रामगोपालपुर–९ स्थित जानकी एकेडेमी अस्पतालले यो आधुनिक प्रविधिबाट पित्तथैलीको पत्थरी निकाल्ने शल्यक्रिया थालेको हो ।
जिल्लाको सुदूर दक्षिणपश्चिमी ग्रामीण भेगमा सञ्चालित अस्पतालले यो आधुनिक प्रविधिको शल्यक्रिया सफलतापूर्वक गरेपछि अब यस प्रकृतिका बिरामीले आफ्नै गाउँघरमा सेवा पाउने छन् । गत मङ्गलबार अस्पतालका शल्य चिकित्सकद्वय डा अश्विनीकुमार यादव र डा मनिषकुमार ठाकुरले यो प्रविधिबाट एक बिरामीको शल्यक्रिया गरे । । यो सफलतासँगै अस्पतालले अब पित्तथैलीको पत्थरी निकाल्ने शल्यक्रिया यहीँ गरिने घोषणा गरेको छ ।
“अस्पतालमा दक्ष चिकित्सक र आधुनिक प्रविधि दुवै उपलब्ध छन्, अब यस प्रकृतिका बिरामीले उपचारका लागि टाढा जानुपर्दैन,” अस्पताल सञ्चालकमध्येका एक डा सुरेन्द्रकुमार यादवले भने । अब पत्थरीको उपचारका लागि जनकपुर, विराटनगर, धरान र काठमाडौँ तथा भारतका दरभङ्गा र पटना पुग्नुपर्ने बाध्यता हटेको छ ।
जिल्लाको गौशाला, सोनमा, औरही र सम्सीसहितका स्थानीय तह अस्पताल वरिपरि छन् । नेपाल–भारत सीमा अस्पतालबाट चार किलोमिटरको दूरीमा छ ।





























प्रतिक्रिया