काठमाडौँ
काम, काम, काम ! जति व्यस्त भए पनि समय समयमा मिर्गौला जँचाउन नबिर्सनु होला । किनकि मिर्गौला खराब भएको कुनै लक्षण देखिँदैन । ज्यान स्वस्थ देखिँदादेखिँदै खराब हुन सक्छ । जब लक्षण देखिन्छ, कामै नलाग्ने भइसकेको हुन्छ ।
विशेषज्ञहरू भन्छन्– तीन लाख नेपालीलाई आफ्नो मिर्गौला बिग्रेको थाहै छैन । तर नआत्तिनुहोस् , अति सानो परीक्षणले बिग्रन थालेको थाहा हुन्छ । रोकथामको सजिलो उपाय नै बेलाबेलामा जँचाउनु हो । ‘जब मिर्गौला बिग्रन्छ, तब मात्र स्याँ–स्याँ गर्दै अस्पताल आउने चलन छ ’, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ ऋषिकुमार काफ्लेले भने, ‘वर्षमा एकपटक जँचाए मिर्गौला स्वस्थ राख्न सकिन्छ ।’
त्रिवि शिक्षण अस्पतालमा गतवर्ष झन्डै पाँच सय बिरामी मिर्गौला बिग्रेपछि जँचाउन पुगे । जसमध्ये ठूलो संख्याले डायलासिस गराइरहेका छन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ दिव्यासिंह शाहका अनुसार शिक्षण अस्पतालमा पाँच सय ५० जनाको मिर्गौला प्रत्यारोपण गरिएकोे छ ।
‘लक्षण नदेखिए पनि सचेत भएर जँचाउने प्रवृत्ति छैन । अप्ठेरो भइसकेपछि मात्र हतारिँदै जँचाउने चलन धेरैमा छ ’, उनले भनिन् । खुट्टा सुन्निन थाल्यो, बिहान उठ्दा आँखाको डिल सुन्निएको छ भने सजग हुनुपर्छ । ‘पिसाब धमिलो आउन थाल्यो र राति सुतिसकेपछि पनि पटकपटक पिसाब फेर्नुपर्छ भने तुरुन्तै मिर्गौला जँचाउनुपर्छ’, उनको सुझाव छ ।
मिर्गौलाको काम पिसाब बनाउने, रगत शुद्धीकरण गर्ने, शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सघाउने हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकलाई आधार मान्ने हो भने कुल जनसंख्याको १० प्रतिशतमा मिर्गौलाको खराबी हुने गरेको छ । यही तथ्यांक आधार मान्दा ३० लाख नेपाली मिर्गौलाका बिरामी भएको डा. काफ्ले बताउँछन् । मुलुकभरका अस्पतालमा ४५ सयभन्दा बढी व्यक्ति डायलासिस गरिरहेका छन् । मुलुकका विभिन्न अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको संख्या १३ सय नाघेको छ।
अन्नपूर्णबाट































प्रतिक्रिया