काठमाडौं
देशभरका ७५३ स्थानीय तहमा ९३९ जनप्रतिनिधिको पद रिक्त छ । १७५ वडामा दलित महिला सदस्य पदमा उम्मेदवारी नै नपरेकाले सिट खाली छन् । यस्तै कोही जनप्रतिनिधिको निधन भएको र कोही जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि स्थानीय तहमा धेरै पद खाली भएको हो ।
निर्वाचन आयोगका अनुसार कुनै तहमा प्रमुखदेखि कुनैमा सदस्यसम्म जनप्रतिनिधि छैनन् । कुल तीन तहका प्रमुख, ३६ वडाध्यक्ष, ८६१ वडा सदस्य र ३९ कार्यपालिका सदस्यको पद खाली रहेको आयोगले जनाएको छ । ०७४ को वैशाख, असार र असोजमा तीन चरणमा भएको स्थानीय तह निर्वाचनमा ३५ हजार जनप्रतिनिधि निर्वाचित भएका थिए ।
खाली रहेका सांसद र स्थानीय तहका प्रमुख र वडाध्यक्षको उपनिर्वाचनको टुंगो लाग्न सकेको छैन । गत पुसमा संघीय संसदको राज्य व्यवस्था समितिले रिक्त स्थानमा बैशाखभित्र निर्वाचन गराउन सरकार र निर्वाचन आयोगलाई निर्देशन दिएको थियो । तर अहिलेसम्म उपनिर्वाचनका विषयमा छलफल भएको छैन । निर्वाचन अयोगले वडाध्यक्षको उपनिर्वाचन गराउन कानुनी अड्चन रहेको बताउँदै आएको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ को उपदफा २ मा अध्यक्ष/उपाध्यक्ष / प्रमुख/उपप्रमुखको उपनिर्वाचन गराउन पर्ने व्यवस्था भएपनि रिक्त वडाध्यक्षको उपनिर्वाचनमा ऐन मौन थियो ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया