इथियोपिया विमान दुर्घटनामा परेकी अधिकारी को हुन् ?

इथियोपिया विमान दुर्घटनामा परेकी अधिकारी को हुन् ?

केन्द्रबिन्दु
0
Shares

आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० भन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् ।

त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना रहेका थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ ।

विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना रहेका छन् भने बेल्जियम, जिबोटी, इन्डोनेशिया, आयरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेकी नेपाली गोरखा घर भएकी एकता अधिकारी रहेको बताइएको छ । दुर्घटनाबारे विश्व खाद्य कार्यक्रम मुख्यालयले काठमाडौंस्थित अधिकारीको परिवारलाई जानकारी गराएको छ । अधिकारी नेपालमा विश्व खाद्य कार्यक्रममा रहेर काम गर्थिन् ।

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको छ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

Skip This
Skip This
Logo