काठमाडौं ।
केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गरेका छन् । देशभर राजावादीको आन्दोलन चकिएसँगै यसबारे छलफलका लागि सर्वदलीय बैठक बोलाएका ओलीले यस्तो आह्वान गरेका थिए । बैठकमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुले सरकारको काम कारबाहीलाई लिएर असन्तुष्टि र आलोचना गरेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई नेपाल र चीन सरकारका तर्फबाट भर्चुअल रुपमा एकैपटक मंगलबार सार्वजनिक गरिएको छ । जस अन्तर्गत सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ । अब सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरेका छन् ।
बेलायतले उत्तरी आयरल्यान्डकी एक ९० वर्षीया महिलालाई फाइजर र बायोएनटेक कोभिड भ्याक्सिन लगाएर कोभिड–१९ विरुद्धको खोप अभियान सुरुवात गरेको छ । बेलायतका खोप केन्द्रबाट सुरुमा केही स्वास्थ्यकर्मी र ८० वर्षभन्दा माथिका संक्रमितलाई भ्याक्सिन लगाइने बताइएको छ । यो खोप अभियानले महामारीलाई नियन्त्रणमा ल्याउने र मानिसलाई कोरोना कहर अगाडिको सामान्य जीवनमा फर्काउने विश्वाससमेत लिइएको छ ।
सर्वाेच्च अदालतले जमिन कित्ताकाट खोल्ने सरकारको निर्णय गैरकानुनी भएको ठहर गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णयलाई बदर गरिदिएको हो । सर्वाेच्चको यो फैसलापछि तत्काल कित्ताकाट नखुल्ने भएको छ ।
सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य हुँदा हिउँदे अधिवेशनमा विधेयकको चाप परेको छ । सङ्घीय संसद्का दुवै सदनमा गरी ५० विधेयक विभिन्न चरणमा विचाराधीन अवस्थामा रोकिएका छन् । कोरोना भाइरस (कोभिड–१९) कहरले सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य हुँदा निकै महत्वपूर्ण र आधारभूत विधेयकसमेत अलपत्र परेका छन् ।































प्रतिक्रिया