नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सीके राउतसंग गरिएको सहमति कुनै पनि हालतमा मान्य नहुने बताएका छन् ।
शनिबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले उक्त ‘सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई वैद्यता त प्रदान गर्दैन ?’ भनी प्रश्न गरे ।
‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ । यसमा कसैको विरोध हुँदैन । सरकारले त्यस्तो प्रयास गर्नुपर्छ । तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन’–साक्षात्कारमा नेता रावलले भने ।
‘राउतजीले म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थें’–उनले भने–‘तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन । उहाँले यसअघि राष्ट्रविरुद्धमा र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो । ती सबै गलत हुन र म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नुभएन ।’
रावलले सीके राउतले आफ्नो फेसबुक पेजमा ‘जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो’ भनेर पोस्ट गरेको पनि सुनाए ।‘उहाँले फेसबुकमा यस्तो कुरा लेख्नुभएको छ । स्वतन्त्र मधेसका सबै मुद्दाहरु फिर्ता लिनपनि सरकार सहमत भयो भनेर उहाँले लेख्नुभएको छ । यो निकै आपत्तिजनक हो । सरकारले यसको पनि जवाफ दिनुपर्छ’–उनले भने ।
शुक्रबार सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक रहेका सीके राउतबीच ११ बुँदे राजनीतिक सहमति भएको थियो ।































प्रतिक्रिया