काठमाडौं
अबको ६ महिनाभित्र महानगरक्षेत्रका सबै कुकुर बन्ध्याकरण भइसक्नेछन् । कामपाको सहयोगमा सञ्चालित मनुमित्र कार्यक्रम अन्तर्गत १४ हजार कुकुरको बन्ध्याकरण हुन लागेको हो।
हालसम्म करिब ७ हजार कुकुरको बन्ध्याकरण भइसकेको छ । कामपाद्वारा गठित वडास्तरीय पशु व्यवस्थापन समितिको सहयोगमा भएको बन्ध्याकरण कार्यक्रम महानगरको २१ वटा वडामा सम्पन्न भइसकेको छ । अब बाँकी रहेको ११ वटा वडामा पनि ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक डा संगीता सापकोटाले जानकारी दिनुभयो।
उहाँका अनुसार सन् २०१६ अप्रिलमा सिंहदरबारका कुकुर बन्ध्याकरण गरी शुरू गरिएको कार्यक्रम अबको ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ। कार्यक्रम अन्तर्गत वडामा रहेका कुकुरको यकिन पहिचान गर्ने र त्यसलाई बन्ध्याकरण र औषधी उपचार गरी सोही स्थानमा छाड्ने प्रचलन रहेको छ ।
कार्यक्रम अन्तर्गत वडा कार्यालयको संयोजनमा चिकित्सकसहितको टोलीले छाडा कुकुर समातेर बन्ध्याकरण गर्ने गरेको छ ।
अधिकांश वडाका कुकुरको संख्या यकिन गरेर बन्ध्याकरण शुरू गरिएको सापकोटाको भनाइ छ । उहाँले महानगरपालिका क्षेत्रभित्रका कुकुरलाई व्यवस्थित गर्न यो परियोजना सञ्चालन गरिएको बताउनुभयो । मनुमित्र कार्यक्रम अन्तर्गत सिंहदरबार, प्रहरी कार्यालय, बालुवाटारस्थित प्रधानमन्त्री निवास, नारायणहिटी संग्रहालय लगायत कार्यालयमा बस्दै आएका कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकिएको छ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया