काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आएका सीके राउतको प्रशंसा गरेका छन् । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षरपछि उनले राउतको राजनीतिक यात्रा प्रारम्भसँगै तराईमा स्वार्थको रोटी सेक्न चाहनेहरूको दिन पनि सकिएको बताए ।
त्यही क्रममा उनले राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेकोप्रति कटाक्ष पनि गरे ।‘देश विखण्डन गर्ने कुरामा कसैसँग पनि सम्झौता हुन सक्दैन,’ उनले भने, ‘देश टुक्र्याउने कुरा आजबाट समाप्त भयो । रोटी सेक्न चाहनेहरूको रोटी पनि काँचै रहे ।’
ओलीले राउतलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग तुलना गरे । ‘हतियार त्यागेर संसद्, सरकार, चुनावमा सहभागिता अनि पार्टी एकताको निर्णय गर्ने कुरा सानो मुटुले हुन्न । त्यस्तो असाधारण निर्णय क्षमता एउटा पुष्पकमल दाहालमा देखें,’ ओलीले भने, ‘सीके राउतजीमा पनि त्यस्तै छाँटकाँट देखें ।’
ओलीले राजपाप्रति खुलेरै असन्तुष्टि प्रकट गरे । टीकापुर घटनाका मुख्य योजनाकार सांसद रेशम चौधरीलाई अदालतले बुधबार जन्मकैद सुनाए लगत्तै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । यो प्रसंगलाई ओलीले ‘खिसियानी बिल्ली, खंभा नोचे सोधे’ भन्ने हिन्दी उखान सुनाउँदै कटाक्ष गरे । ‘अदालतले फैसला गर्ने अनि चिथोर्ने सरकारलाई ?’ प्रधानमन्त्रीले भने, ‘पृथकतावादीलाई छोड्ने, हामीलाई थुन्ने भन्नुहुन्थ्यो उहाँहरू, त्यो पनि खिस्रिक्क भयो । देश टुक्र्याउने कुरा पनि सकियो ।’
कान्तिपुरबाट





























प्रतिक्रिया