श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिद्वारा नयाँ मन्त्रीमण्डल गठन

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिद्वारा नयाँ मन्त्रीमण्डल गठन

केन्द्रबिन्दु
54
Shares

कोलम्बो ।आर्थिक सङ्कटको समना गरिरहेको श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले मङ्गलबार देशको अपेक्षित संसदीय चुनाव आगावै आफ्नो मन्त्रीमण्डल गठन गरेका छन् ।

पिपुल्स लिबरेसन फ्रन्ट (जेभीपी) का स्व–स्वीकृत मार्क्सवादी दिसानायकाले सप्ताहन्तमा भएको राष्ट्रपति चुनावमा ठूलो जीत हासिल गरेपछि सोमबार पदभार ग्रहण गरेका थिए ।

श्रीलङ्काको २ सय २५ सदस्यीय संसदमा हाल उनको पार्टीका तर्फबाट जम्मा तीन जना सांसद छन् । तर सन् २०२२ को आर्थिक मन्दीले लाखौँ साधारण श्रीलङ्कालीलाई प्रभावित पारेको र आईएमएफको उद्धार योजनाको पीडादायी कार्यान्वयनपछि उनीप्रतिको समर्थन बढेको थियो।

उनको कार्यालयले मङ्गलबार ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्रीका रूपमा नियुक्त गरेको घोषणा गरेको छ ।

चार वर्षअघि पहिलोपटक संसद्मा निर्वाचित भएकी अमरसुरिया लैङ्गिक समानता र अल्पसङ्ख्यक अधिकारका मुद्दाहरूमा सक्रियताका लागि परिचित छिन् । उनी र बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्नेछन् र संसद् विघटन भएपछि कार्यवाहक मन्त्रीका रूपमा पनि काम गर्नेछन् ।

“हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रीमण्डल हुनेछ”, पार्टीका सदस्य नमल करुणारत्नेले मङ्गलबार सञ्चारकर्मीलाई भने, “त्यसपछि संसद् विघटन हुनेछ । यो आगामी २४ घण्टाभित्रमा पनि हुन सक्छ ।”

श्रीलङ्काको सङ्कट दिसानायकेका लागि एउटा अवसर साबित भएको छ । उनी ३८ अन्य उम्मेदवारलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन् । अन्तरराष्ट्रिय मुद्राकोषले सोमबार दिसानायकेलाई बधाई दिँदै उद्धार कार्यक्रमबारे छलफल गर्न तयार रहेको बताएको छ ।

“श्रीलङ्कालाई आर्थिक पुनरुत्थानको मार्गमा लैजान सहयोग गरेको कठोर परिश्रमबाट हासिल गरिएका उपलब्धिहरूलाई अगाडि बढाउने दिशामा हामी राष्ट्रपति दिसानायकासँग मिलेर काम गर्न तयार छौँ”, वासिङ्टनस्थित आईएमएफका एक प्रवक्ताले भने ।

Skip This
Skip This
Logo