राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री द्वारा महिला दिवसको शुभकामना

राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री द्वारा महिला दिवसको शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

राष्ट्रपतिले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गर्नुभएको छ । उहाँले सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।

“संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमको समेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा सबै महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ”, सन्देशमा भनिएको छ ।

यता उपराष्ट्रपति नन्दबहादुर पुनले पनि संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताउनु भएको छ । १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले महिला राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नभएको बताउनुभयो ।

उपराष्ट्रपतिले सन्देशमा भन्नु भएको छ, “जनसङ्ख्याको आधा भन्दा बढी भाग ओगटेका महिलाले हरेकक्षेत्रमा समान अवसर पाउनु पर्दछ । संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाउनु ज्यादै खुशीको कुरा हो । संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, सुरक्षा क्षेत्र, रोजगारी, स्वास्थ्य, शिक्षा लगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै गइरहेको मैले महसुस गरेको छु ।”

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नुहुने सम्पूर्ण श्रद्धेय व्यक्तित्वको स्मरण गर्नुभएको छ । परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पौराणिककालदेखि प्रचलित ‘यत्रनार्यस्तु पुज्यते तत्र रमन्ते देवता’ भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको बताउनु भएको छ ।
रासस

Skip This
Skip This
Logo