काठमाडौंमा बाढीले तनावः महानगरले खटायो नगर प्रहरीका १७ वटा टोली

काठमाडौंमा बाढीले तनावः महानगरले खटायो नगर प्रहरीका १७ वटा टोली

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले निरन्तर बर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरेको छ ।

मेयर बालेन शाहका अनुसार टोलीहरु डुवान भएका वस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेका छन् । वंशीघाट, कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको छ । स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरेको मेयर बालेनको भनाई छ ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्ता विपदमा आफू र परिवारलाई बचाउनु तथा आपतमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व हो । आवश्यक सतर्कता अपनाऔँ । विपद सामना गर्न पूर्व तयारी गरौँ ।’ डुबान, कटान, बाढी, पहिरोको जोखिम भए काठमाडौँ महानगरका हटलाइनहरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन पनि आग्रह गरेका छन् ।

अविरल वर्षासँगै बागमतीलगायत नदीमा बाढी उर्लिएको छ । खोला किनारका सुकुम्बासी बस्ती डुबानमा परेका छन् । बाढीको बहाव बढ्दा काठमाडौंको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ । चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगेको छ । पक्की पुलको छेउँमा रहेको मानिसमात्र पैदल हिँड्ने गरिएको फलामे पुल भत्किएको छ । पुलका खम्बा ढलेका छन् । यसैगरी च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित धेरै ठाउँको विद्युत् आपूर्ति पनि प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिवार करिब २०० मेगावाट मात्र रहेको छ ।

मुलुकभर तीन दिनदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रुपमा बागमती प्रदेश बढी प्रभावित भएको छ ।

बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरमा क्षतिका घटना भएका छन् । बिपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका यस क्षेत्रका साना र ठूलागरी धेरै सडक अवरुद्ध छन् । अन्य प्रदेशमा पनि राजमार्ग अवरुद्ध तथा खोला र नदी किनारका खेतीयोग्य जमिन कटानका थुप्रै घटना भएका छन् । अहिले अन्य भागको तुलनामा सुदूरपश्चिम र कर्णालीमा भने सामान्य पानी परेको छ ।

Skip This
Skip This
Logo