काठमाडौं
राष्ट्रिय जनता पार्टी नेपालको एक महिनाभित्र तल्लो तहको अधिवेशन सकिने सम्भावना नरहेपछि वैशाख पहिलो साताका लागि तय गरिएको महाधिवेशन फेरि सर्ने सम्भावना बढेर गएको छ । महाधिवेशन मिति वैशाख ७ देखि ९ नजिकिए पनि राजपाले अहिलेसम्म विधानसमेतको टुंगो लगाउन सकेको छैन ।
अध्यक्षमण्डलका सदस्यहरूले तोकिएकै समयमा महाधिवेशन गर्ने दाबी गर्दै आए पनि वैशाख पाहिलो साता महाधिवेशन हुनेमा पार्टीका अधिकांश नेता तथा कार्यक्रकर्ता नै विश्वस्त छैनन् । राजपाले सदस्यता वितवरण अभियान फागुन मसान्तसम्म समय तोकेको छ । यसअघि फागुन १५ सम्म सदस्यता वितरण कार्यक्रम टुंग्याउने भनिएकोमा अध्यक्षमण्डलका संयोजक महेन्द्र यादवले मंगलबार विज्ञप्ति निकाली फागुन मसान्तसम्म सदस्यता वितरणको समय थपेका छन् ।
फागुनसम्म सदस्यता वितरण गरे महाधिवेशनको आन्तरिक तयारी गर्न राजपालाई एक महिना मात्र समय हुनेछ । एक महिनाभित्र राजपाको वडा, गाउँ/नगर, क्षेत्रीय, जिल्ला तथा प्रदेश अधिवेशन हुने सम्भावना कम रहेको पार्टीका नेताहरू बताउँछन् । अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले अहिलेसम्म तोकेको समयमा महाधिवेशन गर्ने प्रयास रहेको बताए । उनले भने, ‘अहिलेसम्म हाम्रो प्रयास तोकेको समयमा महाधिवेशन गर्ने नै हो । त्यसका लागि तयारी गर्दैछौँ ।’
तर दोस्रो तहका अधिकांश नेता तोकेको समयमा महाधिवेशन हुनेमा विश्वस्त छैनन् । वरिष्ठ उपाध्यक्ष बिर्खेशचन्द्र लालले अहिलेसम्मको तयारी हेर्दा तोकेको समयमा महाधिवेशन हुने सम्भावना निकै कम रहेको प्रतिक्रिया दिए । उनले भने, ‘अहिलेसम्मको तयारी हेर्दा महाधिवेशनको तिथि केही सर्ने सम्भावना छ ।’ महासचिव राजीव झाले पनि वैशाखको पहिलो साता महाधिवेशन हुने सम्भावना निकै कम देखिएको बताए । ‘यथार्थमा भन्नुपर्दा महाधिवेशनको तिथि केही समय पर्छ । एक महिनाभित्र आन्तरिक तयारी गर्न समय पग्दैन ।’
नागरिकबाट































प्रतिक्रिया