ज्ञानमणि नेपाल कालोटोपी
चण्डेनीमण्डन, काभ्रे
जिल्लाको मण्डनदेउपुर नगरपालिका १० स्थित चण्डेनीमण्डनमा शुक्रबार सन्चालित निःशुल्क स्वास्थ्य शिविरमा २३५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । सम्पन्न स्वास्थ्य शिविरमा निःशुल्क औषधि वितरण तथा विरामीलाई आवश्यक परामर्श पनि दिइएको वडाध्यक्ष विष्णुमणि नेपालले जानकारी दिनुभएको छ ।
केहि हप्ता अघि राजधानीको नोबेल अस्पताल र सो वडा विच १५ / १५ दिनमा समुदायमा स्वास्थ्य शिविर सन्चालन गर्न सम्झौता भएको थियो । सोहि सम्झौता अनुसार शुक्रबारदेखि सेवाको शुरु भएको हो ।
राजधानीको सिनामंगलमा रहेको नोबेल अस्पताल र जिल्लाको मण्डनदेउपुर नगरपालिका १० चण्डेनीमण्डनमा रहेको स्थानिय स्वास्थ्यचौकीविच सो वडामा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ । नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन प्रालि ( नोबेल अस्पताल ), मण्डनदेउपुर १० तथा पर्यावरणिय लोकतन्त्रका लागि दक्षिण एशियाली संवाद काठमाडौंविच सो सम्झौता भएको हो ।

सम्झौता अनुसार सो अस्पतालले गाउँमा प्रत्येक १५/१५ दिनमा एकपटक स्वास्थ्य शिविर संचालन गरि सेवा दिने तथा महिनाको एकपटक विभिन्न विधामा ख्यातीप्राप्त डाक्टर पठाई आवश्यक सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ । अस्पतालले विरामीहरुलाई निशुःल्क औषधि उपलब्ध गराउने सम्मको सम्झौता गरिएको सो वडाका वडाध्यक्ष विष्णुमणि नेपालले जानकारी गराउनु भयो । गाउँमा रहेका कुनैपनि रोगका विरामीहरुलाई सके सम्म गाउँमै उपचार गराउने र गाउँमा सम्भव नभए अस्पतालले रिफर गरेको अस्पताल पठाउन वडाबाट सिफरिस दिइने पनि सम्झौता भएको छ ।

साथै अस्पतालका दक्ष चिकित्सक तथा अध्ययनरत विद्यार्थीहरु सम्बन्धित वडामा गई त्यहाँका नागरिकहरुको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न चाहेमा वडाले सहयोग गर्ने , तथा गाउँबाट रिफर गरि अस्पताल आउनु पर्ने विरामीका लागि अस्पतालले पनि सेवासुविधा तथा औषधिमा १० देखि ३० प्रतिशत सम्म छुट दिने विषयमा उल्लेख्य सहमती भएको छ । साथै समय समयमा दुवैपक्ष विच समन्वयात्मक बैठक बसी कार्यक्रमको समीक्षा गर्ने र आवश्यकता अनुसार सेवा सुविधा थप गर्नु पर्ने भएमा सो कार्यक्रम पनि गर्न सकिने गरि अस्पताल तथा वडा स्वास्थ्यचौकीविच सम्झौता भएको छ । सेवा सम्बन्धि सम्झौता प्रत्येक वर्ष नविकरण हुनेछ ।





























प्रतिक्रिया