महिला हिंसाविरुद्धको सोह्रदिने अभियान चल्दै : महिलामाथि थिचोमिचो कायमै

महिला हिंसाविरुद्धको सोह्रदिने अभियान चल्दै : महिलामाथि थिचोमिचो कायमै

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा कञ्चनपुरमा भने महिलामाथि हुने हिंसाका घटना बढिरहेकै छन् । अभियान चलिरहँदा दिनहुँ जसो महिला जिल्ला प्रहरी कार्यालयमा घरेलु तथा लैङ्गिक हिंसा भन्दै गुहार माग्न आइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतका सबै युनिटमा उक्त अभियान सफल बनाउन सक्रिय भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अभियान चलिरहँदा प्रहरीमा महिला हिंसाका आठ उजुरी आएको बताए।

“हामी पनि जिल्लाका सरोकारवाला सङ्घसंस्थादेखि निकायसम्म लैङ्गिक हिंसाविरुद्धको अभियान सफल बनाउन सहकार्य गरिरहेका छौँ”, उनले भने, “यो बीचको अवधिमा प्रहरीमा १३७ महिला विभिन्न समस्या लिएर सेवाका लागि आएका छन् ।” कोरोना सङ्क्रमणका कारण बढ्दो बेरोजगारी, आर्थिक अभाव लगायतका कारण पनि हिंसा बढ्न थालेको प्रहरीको बुझाइ छ ।

“बेरोजार भएर लामो समय घर बस्दा पनि श्रीमान्/श्रीमतीबीच तनाव भएर प्रहरीमा उजुरी आएका घटना पनि छन्”, प्रवक्ता थापाले भने, “पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर लैङ्गिक हिंसा बढिरहेको पनि छ ।”

त्यसैगरी दोधाराचाँदनीको अवैध बाटोबाट भारत जान लागेका यहाँको बेदकोट नगरपालिकाका चार युवतीलाई पनि प्रहरीले सीमानाकाबाट उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । “लैङ्गिक हिंसाका तीन र घरेलु हिंसाका पाँच गरी यहाँ आइतबारसम्म आठ उजुरी परेका छन्”, थापाले भने, “जिल्ला प्रहरीले ग्रामीण बस्तीसम्म १६ दिने अभियान अन्तर्गत सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।”

‘लैङ्गिक हिंसाविरुद्धको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्बद्धता’ भन्ने नाराका साथ यही मङ्सिर १० गतेदेखि अभियान शुरु भएको हो । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले आफूहरु अभियान अन्तर्गत जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । पछिल्लो समय मुख्य नाकाभन्दा पनि दोधारा–चाँदनीबाट दैनिकजसो महिला तथा बालबालिका उद्धार गर्ने काम भइरहेको उनले बताइन्।रासस

Skip This
Skip This
Logo