ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाः ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाः ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दुर्घटनामा ज्यान गुमाएका नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, निर्देशक ईन्जिनियर ध्रुव भोछिभोया, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्री रवीन्द्र अधिकारीका पीएसओ अर्जुन घिमिरेको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई दाहसंस्कारको लागि गृहजिल्ला कास्की लगिएको छ । त्यस्तै पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शव पनि परिवारलाई बुझाइएको छ । गुरुङको भने उनीहरुको परम्परा अनुसार नै दाहसंस्कार गरिनेछ ।

अन्तिम संस्कार गरिनुअघि सातै जनाको शव काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलीको लागि राखिएको थियो । सरकारले पर्यटनमन्त्री अधिकारीलाई राष्ट्रिय सम्मान अपर्ण गर्ने निर्णय गरेको थियो ।

सोही बमोजिम मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाए । राष्ट्रिय झण्डा ओढाउने क्रममा प्रधानमन्त्री ओली भावुक मुद्रामा देखिन्थे । यस्तै उनको पार्थिव शरीरमा पार्टीको झण्डा पनि ओढाइएको थियो । पार्थिव शरीरमा नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए ।

अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि टुँडिखेल पुगेर श्रद्धाञ्जलि अर्पण गरेकी थिईन् । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्तिले पनि मृतकहरुलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Skip This
Skip This
Logo