काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
साथै हेलिकप्टरमा सवार पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवकहरुको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले हिजो मन्त्री निवास पुल्चोक पुगेर स्वर्गीय अधिकारीका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित लगायत मन्त्रिपरिषद्का सदस्यले पनि अधिकारीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभयो ।
उता नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता पौडेलले उक्त दुर्घटनामा परेका मृतकप्रति श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । ‘मिजासिला र भद्र व्यक्तिका रुपमा बेग्लै राजनीतिक छवि बनाउनु भएका मन्त्री अधिकारीको निधनमा सरकार, नेपाल कम्युनिष्ट पार्टी, उहाँको परिवार एवं शुभेच्छुकप्रति गहिरो समेवदना व्यक्त गर्दछु,’ उहाँले भन्नुभएको छ ।
रासस





























प्रतिक्रिया