रविन्द्र अधिकारीलाई सम्झिएर भावुक बने नेकपाका नेताहरु

रविन्द्र अधिकारीलाई सम्झिएर भावुक बने नेकपाका नेताहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना हेलिकोप्टर दुर्घटनामा परेर दिवंगत भएसँगै देश शोकमा डुबेको छ । सत्तारुढ दल नेकपाका प्रभावशाली युवा नेता समेत रहेका संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झिदै नेकपाका नेताहरु भावुक बनेका छन् ।

मन्त्री अधिकारी निकटका नेताहरुले निकै वेदना व्यक्त गरिरहेका छन् । सामाजिक सञ्जाल मार्फत उनीहरुले दिवंगत अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

कसैले मन्त्री अधिकारीको निधनको खबरप्रति आफूलाई विश्वासनै नलागेको भन्दै भाव व्यक्त गरेका छन् भने कसैले एउटा सम्भावित राम्रो नेता देशले गुमाएको प्रतिक्रिया दिएका छन् ।

ताप्लेजुङको एक विमानस्थलको अध्ययन गरी पाथीभरा मन्दिरको दर्शनका लागि उडेका मन्त्री अधिकारीसहित सात जनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका थिए। नेकपाका प्राय सबै मन्त्रीहरु, मुख्यमन्त्रीहरु र उनका साथीहरु भावुक बनेका छन्।

उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले फेसबुकमार्फत भनेका छन,‘ कमरेड रबिन्द्र, सम्भावनाको खोजी गर्दै तपाईंसित यसरी यात्रा गर्ने औसर सँधै सँधैका लागि अन्त्य भएको कुरा म पत्याउन सकिरहेको छैन। राजनीतिमा अत्यन्त उज्जवल संभावना बोकेका तपाईंसित संगै यात्रा गर्ने संभावना समाप्त भएको कुरालाई पत्याउन सकिरहेको छैन । पिडा र आँशुसंगै हार्दिक श्रद्धान्जली ।’

त्यस्तै मुख्यमन्त्री शंकर पोखरेलले पनि रक्षामन्त्री पोखरेको जस्तै भाव व्यक्त गरेका छन्। उनले लेखेका छन्, छन्,‘ संगठन र संघर्ष दुवैबाट खारिएको अत्यन्तै जुझारु कर्मशील यौद्धा कमरेड रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको कुरा विश्वास नै गर्न गाह्रो भो। तर घटनास्थका दृश्यहरु सञ्चारमाध्यममा देखेपछि दुःखद सत्यलाई स्वीकार्नै पर्ने रहेछ। दूर्घटनाबाट राष्ट र पार्टीले ठूलो क्षति वेहोर्नु परेको छ।’

त्यस्तै नेकपा अर्का नेता तथा मन्त्री अधिकारीका साथी योगेश भट्टराई निकै भावुक बनेका छन् । निकै भावुक बनेका नेता भट्टराईले लेखेका छन्, ‘प्रिय साथी म निशव्द छु। म स्वीकार गर्दिन । तिम्र्रै आवाजले बताइदेउन यार।’

त्यस्तै उनले मौसम खराब भएको बेला पनि किन हेलिकोप्टर उडाएको भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्,‘ भीआईपी उडानमा पाइलट सहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि समवेदना प्रकट गरेका छन् । उनले फेसबुकमार्फत भनेका छन्,‘ तिथि अनिश्चित छ, मिति अनिश्चित छ, तर मृत्युको कार्यक्रम सतप्रतिशत सुनिश्चित छ । म के जान्दछु भने म मर्छु केही दिन, केही महिना या केही बर्ष हुनसक्छ, सहज ढंगले या आकस्मिक हुनसक्छ तर डर नमान जिन्दगी भन्दा कम डरलाग्दो हुन्छ मृत्यु । अज्ञात। प्रिय मित्र रविन्द्र अधिकारी, तर तिम्रो मृत्यु भारी अनुभुती भएको छ । आत्मालाई शान्ति मिलोस् स्वर्गमा। सहयात्रामा संगै गएका सबैलाई हार्दिक श्रद्धाञ्जली ।’

नेकपाको विज्ञप्तीः हेलिकोप्टर दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति
नेकपाले ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।

दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधनबाट विकासप्रेमी जनप्रतिनिधि, देशविकासमा समर्पित पर्यटन उद्यमी र राष्ट्रसेवक गुमाएको भन्दै यसले मुलुकलाई अपूरणीय क्षति भएको बताएको हो ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति भएको छ, मुलुकले जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि गुमाएको छ, निजी क्षेत्रबाट देशको विकासमा समर्पित पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारीहरु र हेलिकोप्टर चालक गुमाएको छ ।’

नेकपाले अधिकारीलाई होनहार नेता, विकासप्रेमी जनप्रतिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य नेता गुमाएको बताएको छ ।

Logo