काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले युवाहरू विदेशिनु पर्ने बाध्यताले आमाबाबुको मन काँडाले बिझाएको बताएका छन् ।
विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पूरा नहुँदा आफ्नो बेचैनी बढेको र सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने चाहना पूरा हुन नसक्दा आफूलाई दुःख लाग्नु स्वाभाविक भएको बताएका हुन् ।
शाहद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाह वंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरबार छोडेका थियौँ । तर दुई दशक पूरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पूरा नहुँदा हाम्रो बेचैनी बढाएको छ । गाउँबस्ती र सहरी क्षेत्र क्रमशः ‘युवा शक्तिबिहीन’ बन्दै गइरहेकाले आज मुलुकमा युवा शक्तिले कमाउने र रमाउने वातावरण बन्न सकेको छैन ।’
युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्दै आत्म निर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दै गरेकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘रोजगारीको निमित्त विदेशिनु पर्ने बाध्यात्मक अवस्थाले हाम्रा खेतबारी मात्र बाँझो तुल्याएको होइन, हरेक बाबुआमाको मन पनि काँडाले बिझाएको छ । हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धिबाहेक अर्को इच्छा कहिल्यै राखेनौँ । देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुट राख्ने हाम्रो चाहना हो । बाह्य शक्ति राष्ट्रहरूको दबाब र दुष्प्रभाव हामी कहाँ नबढोस्, यो देशमा अरूको खेल मैदान नबनोस्, हाम्रो भूमि कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्नेमा नै हाम्रो गहिरो ध्यान दृष्टि थियो र सधैँ हुनु पर्दछ ।’































प्रतिक्रिया