काठमाडौं ।
केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा छलफलका लागि बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ । विशेष गरेर कुनै पनि ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनु पर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ ।
कोरोना संक्रमित सरकारी कर्मचारीका लागि सरकारले १४ दिनको सार्वजनिक विदा दिने निर्णय गरेको छ । कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्नुपर्ने १४ दिनलाई सरकारले सार्वजनिक बिदा कायम गर्ने निर्णय गरेको हो । यस्तै संक्रमित बाहेक अन्यकर्मचारीद्वारा नियमत कार्य सम्पादनको व्यवस्था मिलाउन पनि सरकारले सम्बन्धीत निकायमा पत्र काटेको छ ।
चीनले कोरोना भाइरस नियन्त्रणमा लिइसके पनि कोरोना विरुद्धको खोप निर्माणका लागि ठूलो लगानी गर्ने भएको छ । चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकका लागि भाइरस विरुद्धको खोप निर्माण गर्न चीनले ५० करोड अमेरिकी डलर खर्च गर्ने भएको छ । विशेष गरेर कोरोना भाइरस फैलाएको आरोप खेप्दै आएको चीनले यसबाट दोषमुक्त हुन खोपमा लगानी बढाएको अधिकांशको विश्वास रहेको छ ।
भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै मानव तस्कर गिरोहले युवाहरूलाई विदेश पुर्याउने घटना बढेपछि सरकारले भिजिट भिसा सम्बन्धी कडा प्रावधान ल्याउने तयारी गरेको छ । नयाँ कार्यविधीमा अब एक व्यक्तिले २० लाख रुपैयाँको बिमा र न्यूनतम एसएसलीसरहको शैक्षिक योग्यता वा अंग्रेजी बोल्न जान्नुपर्ने व्यवस्था गर्ने तयारी सरकारको छ ।
युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउने संकेत दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले खुशी व्यक्त गरेका छन् । ईयूले सन् २०१३ को डिसेम्बरदेखि नेपालको हवाई उड्यनलाई कालोसूचीमा राखेपछि त्यसयता कुनैपनि नेपाली विमानले युरोपमा उडान भर्न पाएका छैनन् । तर, अब भने यो समस्या समाधान हुने संकेत देखिएको हो ।































प्रतिक्रिया