काठमाडौँ
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा गरेका छन् । न्याय सम्पादन त्रुटि भेटिएको, बिचौलियासँग गठजोड रहेको उजुरीपछि उनले तीन न्यायाधीशको काज सरुवा गरेका हुन् ।
काज सरुवा गरिएका न्यायाधीशमा चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेल रहेका छन् । ढकाल र बागचन्दलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलास र पोखरेललाई उच्च अदालत जनकपुरको राजविराज इजलास सरुवा गरिएको छ ।
उनीहरूलाई आइतबारनै काज सरुवा गर्न निर्णयसहितको पत्र सर्वोच्च अदालतबाट प्राप्त भएको न्याय परिषद्का सूचना अधिकारी टेकनाथ गौतमले जानकारी दिए । उनले सरुवाको बोधार्थ न्याय परिषदमा प्राप्त भएको पनि बताए ।
भ्रष्टाचारको मुद्दा हेर्ने विशेष अदालतका न्यायाधीश निष्पक्ष हुनुपर्नेमा बिचौलियासँग सम्पर्कमा रहने र भ्रष्टाचारका ठूला मुद्दामा धमाधम धरौटीमा छुट्ने क्रम बढ्न थालेपछि प्रधानन्यायाधीश जबराले काज सरुवा गरेको स्रोतले बतायो । काज सरुवा हुने न्यायाधीशलाई पूर्वप्रधान न्यायाधीश गोपाल पराजुलीको कार्यकालमा नियुक्ति गरिएको थियो ।
सर्वोच्च अदालतको पद बहालपछि प्रधानन्यायाधीश जबराले न्यायालयभित्रको बेथिति हटाउनका लागि सूक्ष्म अनुगमन थाल्दै आएका छन् । न्यायालयमा न्यायाधीशबाटै बेथिति भएको निष्कर्षसहित उनले कार्यसम्पादन मूल्यांकन हेरेर न्यायाधीशको काज सरुवा र स्पष्टीकरण लिइरहेका छन् । न्यायपरिषद् सचिवालयले न्याय सम्पादनमा गम्भीर त्रुटि गर्ने ७८ जना न्यायाधीशविरुद्धको उजुरीका विषयमा छानबिन सुरु गरेको छ ।
न्यायाधीशहरूले न्याय सम्पादनमा गरेको त्रुटिका विषयमा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा छानबिन समिति गठन गरिएको छ । न्यायपरिषद्मार्फत थालिएको यो अभियानका क्रममा अन्य दुई जिल्ला न्यायाधीशलाई एकहप्ते स्पष्टीकरण सोधिएको छ । त्यस्तै, न्याय सम्पादनमा बदनियत गरेको भन्दै न्यायपरिषद् सचिवालयले सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेश काफ्ले र भक्तपुर जिल्ला अदालतका न्यायाधीश मोहम्मद जुनैद आजादलाई एक साताभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको छ ।
राजधानीबाट





























प्रतिक्रिया