काठमाडौं । नेपाली कांग्रेसको क्रियासिल सदस्यता अद्यावधिक नगर्नेको संख्या ठूलो छ। आन्तरिक विवाद, पार्टी छाडेर अन्य दलमा प्रवेश, विदेश पलायन र परिचय देखाउन नचाहनेलगायतका कारण कम संख्यामा मात्र सदस्यता अद्यावधिक भएको हो। पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले सदस्यता अद्यावधिक गराएका छैनन्।
१४ औं महाधिवेशनमा ८ लाख ५० हजार क्रियाशील सदस्य थिए। गत १० पुससम्म चलाइएको अभियानका क्रममा ४ लाख ५० हजारले नवीकरण र १ लाख ५० हजारले नयाँ सदस्यता लिएका थिए। तिनैको विवरण अद्यावधिक गर्न कांग्रेसले १ वैशाखदेखि अभियान चलाएको थियो। यसको म्याद बिहीबार सकिएको छ। ‘राति १२ बजेसम्म अद्यावधिक गर्ने म्याद छ, त्यतिन्जेल ४ लाखको सदस्यता अद्यावधिक हुने अनुमान छ,’ क्रियाशील सदस्यता अद्यावधिक अभियानका संयोजकसमेत रहेका महामन्त्री प्रदीप पौडेलले भने। उनका अनुसार बिहीबार एक दिनमा मात्रै ५५ हजारले सदस्यता अद्यावधिक गरेका छन्।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि कांग्रेसभित्र नयाँ ऊर्जा र उत्साह देखिएको थियो। नयाँ नेतृत्वले कांग्रेसलाई ‘रिब्रान्डिङ र रिबिल्डिङ’ गर्ने उद्घोष गरेको थियो। तर त्यो उत्साह जसरी गएको प्रतिनिधिसभा निर्वाचनमा देखिएको थिएन, त्यस्तै स्थिति क्रियाशील सदस्यता अद्यावधिकमा पनि पाइएको छ।
झापाकी नेता सरिता प्रसाईंले पार्टीभित्रको एकताको वातावरण नबनेकै कारण सदस्यता अद्यावधिक नगरेको बताइन्। सबैसँगको एकता नहुँदासम्म आफूले सदस्यता अद्यावधिक नगर्ने उनको भनाइ छ। ‘बाहिर अरू पार्टीहरूबाट शिला खोज्दै भित्र्याउने तर आफ्नै पार्टीभित्रका नेताहरूलाई एकाकार गर्न नखोज्ने नेतृत्वलाई दबाब होस् भनेर नै अद्यावधिक गरेकी छैन,’ नेता शेखर कोइरालानिकट रहेकी प्रसाईंले भनिन्। २७–३० पुसमा भएको विशेष महाधिवेशनको विपक्षमा रहेको ठूलो संख्या अहिले पनि गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिसँग एकाकार भएको छैन।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा १७ निर्वाचन क्षेत्रमा सदस्यता संख्याभन्दा कम मत कांग्रेसलाई प्राप्त भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। ‘झापा–५ मा ७ हजार ९ सय क्रियाशील सदस्य थिए। भोट १ हजार ८ सय हाराहारी मात्रै आयो। सप्तरी–२ मा ७ हजार १ सय सदस्य थिए, २ हजार ४ सय जति मात्र मत आयो,’ उनले भने, ‘कसले भोट हालेन वा असहयोग गर्यो भन्ने प्रमाणित गर्न नसकिएकाले नै सदस्यतालाई पुनः प्रतिबद्धता गराउन अद्यावधिक गरिएको हो।’
यसअघि १५औं महाधिवेशनलाई लक्ष्य गरेर पुराना सदस्यताको नवीकरण र नयाँ वितरण गरिएको थियो । १० पुस २०८२ सम्म चलाइएको अभियानमै १४ औं महाधिवेशनको तुलनामा २ लाख ६६ हजारले सदस्यता संख्या घटेको थियो । नवीकरणमा नै त्यति धेरै सदस्यता घट्नुमा मधेशका २४ निर्वाचन क्षेत्रबाट नवीकरण नहुनु पनि एउटा मुख्य कारण हो। मधेशकै २९ निर्वाचन क्षेत्रले त्यति बेला नयाँ सदस्यतासमेत वितरण गरेका थिएनन्। मधेशलाई नवीकरणका लागि मौका दिइने कांग्रेसले जनाएको छ।
कांग्रेसले १८ जेठदेखि नयाँ क्रियाशील सदस्यताको आवेदनसमेत खुलाएको छ। यसको समयसीमा तोकिएको छैन। ६ साउनदेखि वडा अधिवेशन हुँदै छ। पार्टीको १५ औं महाधिवेशन आगामी ९–१४ असोजमा हुने निर्णय भइसकेको छ। क्रियाशील सदस्यहरूले वडाबाट क्षेत्रीय प्रतिनिधि चयन गर्छन् र निर्वाचित प्रतिनिधिहरूले केन्द्रीय सभापतिसहित केन्द्रीय कार्यसमिति चयन गर्छन्।
केन्द्रीय सदस्य नैनसिंह महर पार्टीप्रति घट्दो जनमतको असर क्रियाशील सदस्यतामा पनि परेको बताउँछन्। ‘चुनावमा कांग्रेसको राम्रो नतिजा आएन। नेता र कार्यकर्ताबाहेक अरू पार्टीमा आकर्षित भएनन्। जागिर खाने र अवसर खोज्नेहरू पनि आएनन्,’ उनी भन्छन्, ‘मुख्य त आन्तरिक विवाद नै हो। यसलाई मिलाउन सक्दा सदस्यता बढ्छ।’
क्रियाशीलता अद्यावधिक सबैभन्दा बढी बागमती, लुम्बिनी, गण्डकी र कोशीबाट भएको छ, सबैभन्दा कम कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा छ। १४ औं महाधिवेशनमा सबैभन्दा धेरै बागमतीमा १ लाख ८६ हजार क्रियाशील सदस्य थिए, सबैभन्दा कम कर्णाली करिब ५५ हजार सदस्य थिए।





























प्रतिक्रिया