काठमाडौं
सदर चिडियाखानाले जोडीविहिन जन्तुलाई जोडी बाँध्ने प्रकृया अघि बढाएसँगै दुई जन्तु थपिदैछन् । चिडियाखानाले यही साता निलगाई (घोडगधा) र सारस ल्याउँदैछ ।
निलगाई बर्दिया र सारस कञ्चनपुरबाट काठमाडौं ल्याउने तयारी गरिएको हो । प्राकृतिक बासस्थान छोडेर वस्ती पसेको निलगाई डिभिजन वन कार्यालयले उद्दार गरी राखेको हो भने सारस स्थानीय बासिन्दाले घरमा हुर्काएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गरेका हुन् । दुवै जन्तु यही साता ल्याउने प्रकृयाअघि बढाइएको चिडियाखानाका आयोजना व्यवस्थापक डा चिरञ्जीवी प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
मानव संगतमा रहेका ती जन्तुलाई प्राकृतिक वासस्थानमा छोड्न अनुपयुक्त हुने विज्ञहरुको सुझावका आधारमा कृतिम बासस्थान (चिडियाखाना) ल्याउने निधो भएको उहाँले बताउनुभयो । ‘चिडियाखानामा नभएका र जोडीविहिन जन्तुलाई जोडी बाध्ने पहल भइरहेका बेला संयोगले त्यस्तै हामीले जन्तु पाएका छौ, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको पहलमा अन्य जिवजन्तु पनि थप्ने प्रयास भइरहेको छ’–पोखरेलले भन्नुभयो ।
चिडियाखानामा एक वर्षयता निलगाई छैन भने करिव २ वर्षयता सारस जोडीविहिन भएको छ । चिडियाखानामा अहिले विभिन्न १ सय १९ प्रजातीका १ हजार १ सय १३ वटा जिवजन्तु प्रर्दशनीमा राखिएका छन् । बाघ, गैंडा, जलगैंडा, सिमाङ्ग (वन मान्छे), जरायो, घोरल, नाउर, हिमाली भालु पोथीविहीन छन् भने घडियालका भाले छैनन् ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया