एजेन्सी । भारत प्रशासित कश्मीरको पुलवामा भएको हमलापछि भारत पाकबीच द्धन्द्ध चर्किएको छ । उक्त हमला पाकिस्तानले गराएको आरोप भारतको छ ।
भारतले पाकिस्तानी सिमा क्षेत्रमा सैनिक सतर्कता पनि बढाएको छ । उसले पाकिस्तानलाई विभिन्न चेतावनी दिँदैं आएको छ । तर पाकिस्तानी सेनाले त्यस्तो चेतावनी नदिन भारतलाई सचेत गराएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफूरले भारतलाई आफुसँग निहूँ नखोज्न चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भारतले पाकिस्तानमाथि लगाउँदैं आरोपको खण्डन गरे ।
आफ्नै सुरक्षा व्यवस्था कमजोर हुँदा भारतमाथि आतंकवादी हमला भएको भन्दै अरुलाई दोष नदिन सचेत गराए । उनले भने, ‘यो हमलाबाट भारतको सुरक्षा व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा भएको छ । आफ्नो देशको सुरक्षा व्यवस्था मजबुद बनाउनुहोस् । अरुलाई दोष दिएर हुँदैन् ।’
पुलवामा १४ फेब्रुअरीमा सीआरपीएफका जवान सवार गाडीमा जैश ए मोहम्मदले आत्मघाती हमला गर्दा ४० जवानको मृत्यु भएको थियो । भारत यो हमला पाकिस्तानले गराएको दाबी गर्दै आएको छ । तर पाकिस्तानले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
प्रवक्ता गफूरले भने, ‘पाकिस्तानले उक्त घटनापछि सोचेर भारतलाई जवाफ दिएको छ । पाकिस्तानी प्रधानमन्त्रीले भारतलाई एउटा अफर दिए । जुन अहिलेसम्म कसैले दिएको थिएन् । प्रधानमन्त्रीले प्रमाण दिनुहोस् प्रमाण मिलेमा हामी आफ्नो दबाबमा नभएर आफ्नो कतव्र्य ठानेर आतंककारीविरुद्ध कारवाही गर्छौ ।’
आफुहरुले उक्त हमलाको अनुसन्धान गर्दा भारतलाई जवाफ दिन ढिलाई भएको बताए । आफुहरुले ढिलागरी जवाफ दिँदा भारतले आफुहरुमाथि थप शंका गरेको उनको तर्क छ । अनुसन्धानका क्रममा भारतले पाकिस्तानमाथि लगाएको आरोप प्रमाणित हुन नसकेको उनको भनाई छ ।
भारतीय सेना ७० वर्षदेखि नियन्त्रण रेखामा बसिरहेको भन्दै उक्त क्षेत्रमा कुनै पनि पाकिस्तानी घुस्न नसक्ने भन्दै उनले भारतीय सेनाकै सुरक्षामाथि प्रश्न उठाएका हुन् । पाकिस्तानलाई भन्दा पनि आफ्नै सेनालाई हमलाबारे सोध्नुपर्ने मेजरको तर्क छ ।































प्रतिक्रिया