के मन्त्रिपरिषद् फेरबदल हुन लागेकै हो ?

के मन्त्रिपरिषद् फेरबदल हुन लागेकै हो ?

केन्द्रबिन्दु
0
Shares

(रामजी बलामी)

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत फागुन ३ गते एक बर्ष पूरा गरेको छ । यतिबेला प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेको काम कारवाहीहरुको समिक्षा भईरहेको छ ।

प्रधानमन्त्री ओलीले मातहतका मन्त्रालयहरुको कार्यप्रगतिको मुल्यांकन गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले सफ्टवेयर नै बनाएर मन्त्रीहरुको कार्य मुल्यांकन गर्दै आएका हुन् । तर, कतिपय मन्त्रीहरुले आफ्नो कार्ययोजना आफै कार्यान्वयन गर्न असक्षम भएका छन् । सोही मुल्यांकनमा अनुतिर्ण र विवादित मन्त्रीहरुका कारण सरकार नै सकसमा पर्न थालेपछि प्रधानमन्त्री सोचमग्न अवस्थामा छन् ।

ओलीले यसअघि नै मन्त्रीहरुलाई परिणाममू्खी काम गर्न पटक पटक आग्रह गर्दै आएका थिए । स्मरणहोस्, मन्त्रिपरिषद् गठनताका नै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई एक बर्षको कार्ययोजना मागेका थिए । त्यही बखत प्रधानमन्त्री ओलीले काम गर्नका लागि मन्त्रीहरुलाई एक बर्षको समयावधि पर्याप्त रहेको बताएका थिए ।

पछिल्लो केही दिन यता मन्त्रिपरिषद् फेरबदल हुने समाचार बाहिर आएको छ । केही मन्त्रीहरुको कार्यशैलीका कारण सरकारकै कार्यप्रगतिमा प्रश्नचिन्ह ठडिएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद्बारे सोच्न बाध्य भएका हुन् । प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग समेत यस विषयमा गोप्य छलफल गरिसकेका छन् । यो गोप्य छलफलको विषय चुहिएपछि यतिबेला मन्त्रीहरुको ढुकढुकी बढेको छ । यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुबीच भने सम्भावित नयाँ मन्त्रीहरुको चियोचर्चा हुन थालेका छन् ।

को को हुन् सम्भावित मन्त्रीहरु ?

गृहमन्त्री रामबहादुर थापा ‘बादल’

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा मुलुकमा शान्ति र अमनचयन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । तर, यथार्थमा त्यो हुन सकेको छैन । त्यसकारण प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापा बादलसँग सन्तुष्ट छैनन् । प्रधानमन्त्री ओली गृहमन्त्री बादलसँग यसअघिदेखि नै असन्तुष्ट रहँदै आएको भएता पनि पार्टीगत सन्तुलन मिलाउनका लागि मौन बस्दै आएका थिए । स्मरण होस्, गृहमन्त्री बादल सचिवालय सदस्यका साथै पार्टी एकिकरण कार्यदलका संयोजक पनि हुन् ।

पछिल्लो समय हत्या, हिंसा तिव्रदर बढ्न थालेपछि आइजिपी र गृहमन्त्री दुबैको चौतर्फी आलोचना भईरहेको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्त काण्ड, साढे ३३ किलो सुन काण्डलगायतका कारण पनि गृहमन्त्री बादल आलोचित छन् । त्यसकारण गृहमन्त्री बादल सम्भावित खतराको सूचिमा रहेका मन्त्री हुन् ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित

पहिलो कार्यकालमा निकै वाहवाही बटुलेका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यसपटक आलोचित बने । इन्धन सुविधा, भ्रमण भत्तादेखि कर्मचारी समायोजनसम्मका विषयले मन्त्री पण्डितलाई आलोचित बनायो । संघीयता कार्यान्वयन अन्तर्गतको प्राथमिक कार्य कर्मचारी समायोजनको काम ढिलो शुरु भएकोमा प्रधानमन्त्री असन्तुष्ट बनेका हुन् । समयमै कर्मचारी समायोजन हुन नसक्दा प्रदेश सरकारको कार्यप्रगतिमा बाधा पुग्न गएको छ जसले गर्दा प्रधानमन्त्रीले पनि मुख्यमन्त्रीहरुको दबाब खेपिरहेका छन् ।

भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ

पद गुमाउने सम्भावित मन्त्रीको सूचिमा रहेका अर्का मन्त्री हुन् भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ । भौतिक संरचनाको विकास र सुधारमा यो मन्त्रालयको प्रगति सुस्त देखिएको छ । यसका साथै वीपी राजमार्गमा ठूला गाडी चलाउन अनुमति दिने निर्णय प्रधानमन्त्रीका लागि सबैभन्दा चित्त नबुझेको विषय हो । यो निर्णयविरुद्ध चौतर्फी विरोध मात्र भएन अदालतले समेत रोक लगाउनु परेको थियो ।

त्यस्तै हालै टुटल र पठाओ प्रकरणले पनि मन्त्री महासेठलाई आलोचित बनायो । यो प्रकरणमा पनि प्रधानमन्त्रीले तत्काल एक्सन लिएर सञ्चालन अनुमति दिन आदेश दिएका थिए । सबैभन्दा बढी बजेट भएर पनि सुस्त कार्यान्वयन भएको मन्त्रालय अन्तर्गत परेकाले मन्त्री महासेठको पद गुम्ने सम्भावना अधिक रहेको नेकपाका नेताहरुबीच चर्चा छ ।

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट

बैदेशिक रोजगारमा बढ्दो समस्याका विषयमा मन्त्रालयले खासै चासो नदिएको चर्चा छ । मलेसियाको रोजगारी बन्द हुनु, म्यानपावर व्यवसायी निकट हुनुलगायतका कारण उनी आलोचित छन् । यसका साथै मलेसियामा कामदार पठाउने जिम्मेवारी व्यक्ति विशेषलाई दिन खोजेको भन्दै उनको विरोध भईरहेको छ । यद्यपि सामाजिक सुरक्षा योजना र रोजगारी कार्यक्रम कार्यान्वयनका लागि मन्त्री विष्टको पद जोगिने सम्भावना पनि छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारी

पछिल्लो समय निकै आलोचित मन्त्री हुन् संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारी । उनको जनस्तरबाटै राजीनामाको माग भएको छ । वाइडबडी प्रकरणमा सरकारकै चर्काे आलोचना भएपछि मन्त्री अधिकारीको पद धरापमा परेको हो । उनले संघीय संसदको संसदीय समितिमा नै गलत अभिव्यक्ति दिएपछि उनको चर्काे आलोचना भएको थियो । यसका साथै संसदीय उपसमितिले पनि मन्त्री अधिकारीमाथि कारवाही गर्न सिफारिस गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव

मन्त्री पद गुमाउँन सक्ने अर्का मन्त्री हुन् उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव । उद्योग व्यवसायीहरुलाई उचित समय नदिएको र समस्या समाधानका लागि कुनै पहल नगरेको भनेर मन्त्री यादवको आलोचना भईरहेको छ ।

अर्थमन्त्री युवराज खतिवडा

अर्थमन्त्री युवराज खतिवडाको निकै पहिलेदेखि नै आलोचना हुँदै आएको छ । उनले अर्थमन्त्रीको शपथग्रहण गरेदेखि नै शेयरबजार राताम्मे बन्न थालेको थियो । यसका साथै पछिल्लो समय ब्याजदर प्रकरणले पनि अर्थमन्त्री आलोचित बनेका छन् । हालै मात्रै उद्योगी व्यवसायीले प्रधानमन्त्री ओलीलाई भेटेर समस्या समाधान गरिदिन आग्रह गरेका थिए । लगतै प्रधानमन्त्रीले अर्थमन्त्री खतिवडा र गभर्नर डा. चिरिञ्जीवी नेपाललाई ३ दिनभित्र समस्या समाधान गर्न निर्देशन दिएका थिए । तर, समयावधि सकिसक्दा समेत यो समस्या ज्यूँका त्यूँ छ ।

यद्यपि अर्थमन्त्री खतिवडाको पद गुम्ने सम्भावना भने न्यून छ । किनकी सत्तारुढ दल नेकपामा अर्थमन्त्रीका लागि ‘राइट पर्सन’ भेटिएको छैन । अर्थमन्त्री बन्न पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, रक्षामन्त्री इश्वर पोखरेल र विष्णु पौडेल इच्छुक छन् । तर, पाण्डे माधव नेपाल गुटका नेता हुन् भने पौडेल नेकपाका महासचिव छन् । रक्षामन्त्री पोखरेलको कुनै सम्भावना छैन । अर्काेकुरा प्रधानमन्त्री ओली अर्थमन्त्रीलाई आफ्नै बजेट कार्यान्वयन गर्न दिने पक्षमा छन् । तसर्थ नेकपाका नेताहरुबीच अर्थमन्त्री खतिवडाको पद सुरक्षित रहन सक्ने अडकलबाजी भईरहेको छ ।

Skip This
Skip This
Logo