दाङ । दाङको राप्ती लोकमार्गअन्तर्गत बजार क्षेत्रका बासिन्दाले राप्ती लोकमार्गअन्तर्गतका सडक स्तरोन्नति गर्न माग गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई सडक स्तरोन्नति गर्न ध्यानाकर्षण समेत गराएका छन् ।
राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानेले सडक स्तरोन्नति लागि कहिल्यै १५ मिटर छोड्नुपर्ने त, कहिल्यै २५ मिटर छोड्नुपर्ने भनी सरकारले जनाउँदै आएको भन्दै यसले आफूहरुलाई अन्योल बनाएको बताए ।
उनका अनुसार सोही सडक वीरेन्द्र चोकदेखि टरिगाउँ एयरपोर्टसम्मका सडक दायाँ–बायाँतर्फका बासिन्दाहरु समस्यामा परिरहेका छन् । अहिले १५ मिटर सडक छोडेको भए पनि त्यसमा सडक पनि नबनेको र त्यसमा पर्ने खाल्डाखुल्डीले मानवीय क्षति पुगिरहेको जनाउँदै यसमा सरकारले ध्यान दिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । अहिले फेरि २५ मिटर सडक र छ मिटर फुटपाथका लागि छोड्नुपर्ने कुरा उठिरहेको जनाउँदै यसले झनै अन्योल थपेको अध्यक्ष लामिछानेको भनाइ छ ।
यसमा अन्योल हुँदा घर भाडामा लगाउन नसकेको, घरजग्गा बिक्री वितरणमा समस्या हुने गरेको, बैंक ऋणसमेत पाउन नसकेको, घरको नक्सा पाससमेत रोखिएको अवस्था रहेको उनको भनाइ छ । सडकमा स्तरोन्नति समयानुकूल हुनुपर्ने, कालोपत्रेको दायाँबायाँ नाला निर्माण हुनुपर्ने, १५ मिटरभित्रका खाल्डा पुर्नपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । ध्यानार्षणपत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र ६ का सात टोल विकास संस्थाका दुई सय ९४ जनाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
यदि सडक विस्तार गर्नुपर्ने अवस्था आएमा नक्सा पास गरेर बनेका घरहरुलाई मुआब्जा दिनुपर्ने सङ्घर्ष समितिको भनाइ थियो । त्यस अवसरमा सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले देशभरका राष्ट्रिय राजमार्गका लागि २५ मिटर सडकका लागि छ मिटर फुटपाथका लागि छोड्नुपर्ने मापदण्ड रहेको जानकारी दिए । उनले लोकमार्गका खाल्डाखुल्डी पुर्ने काम भने विगतमा पनि भएकाले त्यसलाई निरन्तरता दिने बताए ।
तुलसीपुर उपमहानगरपालिका प्रमुख खड्काले राप्ती लोकमार्ग सङ्घीय सरकारको कार्य क्षेत्रभित्र पर्ने भएकाले आफूहरुले समन्वयको भूमिका खेल्ने जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले सडकको स्तरोन्नति हुँदा विद्युत्का संरचना हटाउने प्रतिबद्धता जनाए ।































प्रतिक्रिया