प्रजातन्त्र दिवसका अवसरमा शुभकामना

प्रजातन्त्र दिवसका अवसरमा शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी तथा उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दल लगायत सरोकार भएका पक्षलाई आग्रह गर्नुभएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा उहाँहरुले आज दिनुभएको शुभकामना सन्देशमा नेपाली जनताले ऐतिहासिक जनआन्दोलनबाट निरङ्कुश जहानियाँ राणाशासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ गौरवपूर्ण र अविस्मरणीय दिनमा प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर वीराङ्गनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय एकताका साथ देशलाई आर्थिक विकासतर्फ तीव्र गतिमा लैजान सबै नेपालीलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

राजनीतिक सङ्क्रमण अन्त्य भई देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको छ भन्दै उहाँहरुले राष्ट्रियता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपालको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै समृद्ध नेपाल निर्माण गर्नेतर्फ सबै अग्रसर हुनुपर्ने बताउनु भएको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताउनु भएको छ । उनन्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले मुलुक समृद्धिमा बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहाना अब पूरा हुने क्रममा रहेको बताउनुभयो ।

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको उहाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । “निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ ।” प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको उक्त आन्दोलनमा शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभएको छ ।
रासस

Skip This
Skip This
Logo