ललितपुर । युवा पुस्तामा मण्डलाको महत्त्वबारे जानकारी गराउने उद्देश्यले आगामी कार्तिक १७ गते शनिबार गोदावरीमा मण्डला प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल संवत अर्थात न्हूँ दँ ११४५ को दिन गोदावरीको ठेचोमा मण्डला प्रतियोगिता आयोजना हुन लागेको हो ।
झीःझी पुचद्वारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको हो । प्रतियोगिताले युवा पुस्तामा मण्डलाको संरचना र यसमा प्रयोग गरिने रंगले सकारात्मक ऊर्जा र जीवनमा पार्ने प्रभावबारे राम्रो ज्ञान दिने अपेक्षा लिइएको आयोजक संस्था झीःझी पुचका अध्यक्ष अनिल महर्जनले बताए ।
आध्यात्मिक प्रतीकहरूको ज्यामितीय तथा पञ्चमहाभूत सहित सिङ्गो ब्रहमाण्डको सुक्ष्म प्रतिनिधित्व गर्ने मण्ड (मण्डला) नेवारी संस्कृतिमा सम्मानजनक अस्तित्व र गौरवमय मानिन्छ । कला, रङ, धर्म र संस्कृतिको सम्बन्ध दर्शाउनुका साथ साथै न्हूँ दँ ११४५ लाई अर्थपूर्ण र भन्य रूपमा मनाउन यस प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।
नेवार समुदायको संस्कृति जोगाउन र गोदावरी नगरपालिकालाई पर्यटकीय नगर बनाउन यस्तो कलात्मक प्रतियोगिताले सहयोग पुर्याउने यस कार्यक्रमका संयोजक धर्मेन्द्र महजनले लुकेर बसेको कलाकारहरूलाई सम्मान र कदर पनि गरिने जानकारी दिए ।
व्यक्तिगत तथा संस्थागत रूपमा जो कोहीले पनि भाग लिन सक्ने यस प्रतियोगितामा कुनै उमेरको सीमा तोकिएको छैन । दुई जना मिलेर छ घण्टाभित्र एउटा चार वर्गफिटको मण्डला बनाउनुपर्नेछ । महिला पुरुष जो कोहीले पनि भाग लिन मिल्ने प्रतियोगितामा पहिले रजिस्टर गर्नेले पहिलो प्राथमिकता पाउने र जम्मा २० वटा समुह मात्र समावेश गरिने बताइएको छ ।
इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले व्यवस्थापन गर्ने यस कार्यक्रममा आवश्यक पर्ने पाँच थरी रंगलगायत अन्य सामाग्री जस्तै चक, इन्ची टेप, धागो, प्लाष्टिक कोन, कचौराइत्यादि आयोजकका तर्फबाट उपलब्ध गराउने र सजावटको सामाग्री प्रतियोगीले नै व्यवस्था गर्नुपर्नेछ ।
प्रतियोगिताको प्रवर्द्धको रूपमा गोदावरी नगरपालिका वडा नम्बर १२ थेचो, सहकारी पे–पीइएस, ग्लिष्टेन इन्टरप्राइज र थेचो क्याटरिङ सहयोगीको रूपमा रहेका छन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई विशेष पुरस्कार वितरण गरिने र नेपाल संवत ११४५ न्हूँ दँ को उपलक्ष्यमा निस्कने मोटर साइकल र्याली तथा भिन्तुना र्यालीमा आउनेहरूलाई समावेश तथा लक्षित गरी आयोजन गर्ने भएकाले तीन हजार देखि पाँच हजार जनाले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
हरेक वर्ष हुने यस प्रतियोगितामा आफूसँग भाएको कला प्रस्तुत गर्ने सुवर्ण मौकाको फाइदा उठाउन आफ्नो नाम दर्ता गरी भाग लिन आयोजकद्वारा आह्वान गरिएको छ ।






























प्रतिक्रिया