काठमाडौं । दशैंपछिको दोस्रो ठूलो चार्डका रूपमा हेरिने तिहारलाई खुसीयाली र उल्लासको पर्व मानिन्छ । पटका पड्काएर यस पर्वलाई थप रमाइलो बनाउने प्रयासमा धेरै लाग्ने गर्छन् ।
पटका पड्काएर मात्र नभई जुवातास आदि खेल्दै मादकपदार्थ सेवन गर्नमा पनि तिहारमा धेरै व्यस्त हुन्छन् । कोही घर परिवारसँग मिलेर रमाइलोको लागि खेल्छन् त कोही कमाइको लागि ठूलो रकम दाउमा थाप्छन् ।
जुवाका कारण धेरैको घरपरिवार बिग्रिएको उदाहरण पर्याप्त छन् । तिहारका बेलामा यस्ता गतिविधिलाई बढी हुने विषयको मध्यनजर गर्दै प्रहरीले पनि विशेष सुरक्षा अपनाउने गर्दै आएको छ ।
भारतलगायतका छिमेकी देशहरूमा चार्डपर्वको बेलामा पटका पड्काउने चलन बढी छ । यसको प्रभावले नेपालमा पनि पटका पड्काउने चलन बढाएको हो । यद्यपि नेपालमा पटका पड्काउने र बेच्ने कार्यलाई कानुनले निषेध गरेको छ ।
पटकाका कारण कुनै क्षति भएको खण्डमा पीडितले अदालतमा मुद्दा दायर गर्न सक्ने र दोषी ठहर भएमा क्षतिपूर्ति तिर्नुपर्ने हुनसक्छ ।
त्यसैले अवैध तरिकाले आयात भएर आएका पटकालाई प्रहरीले नियन्त्रणमा लिएर नष्ट गर्दै आएको हुन्छ । तर, पनि बजारमा पटकमा भने पर्याप्त भेटिनछन् ।
यसपटकको तिहारमा भने अवैध तरिकाले पटका बिक्री गर्ने र किनेर पड्काउने समेतलाई कडा कारबाही हुने नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले बताए । उनका अनुसार पटकाका कारण कुनै क्षति भएको खण्डमा पीडितले अदालतमा मुद्दा दायर गर्न सक्ने र दोषी ठहर भएमा क्षतिपूर्ति तिर्नुपर्ने हुनसक्छ ।
नेपालको विस्फोटक पदार्थ ऐनले पटकाजस्ता विस्फोटक पदार्थको उत्पादन, भण्डारण, ओसारपसार र बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । उक्त नियम उल्लङ्घन गरेमा हिरासत वा जेलमा बस्नुपर्ने र आर्थिक जरिवानाको भागेदार बन्नुपर्ने कार्कीले जानकारी दिए ।
‘पटका पड्काउँदा आगलागी, चोटपटक लाग्ने, शरीरका अङ्ग गुमाउने जस्ता घटना हुन सक्छन् त्यसैले सुरक्षाका कारण पटका पड्काउन निषेध गरिएको हो, पटका किन्न धेरै खर्च लाग्ने र देशबाट पनि धेरै रकम बाहिरिने हुँदा यसको प्रयोगको औचित्य देखिँदैन,’ उनले भने ।
रमाइलाको नाममा तडकभडक नगरी मौलिक संस्कृतिलाई अपनाउँदै तिहार मान्नु पर्ने प्रहरीको सुझाव छ ।
पटका पड्काउनेहरूलाई अभद्र व्यवहारको आरोपमा पक्राउ गरी हिरासतमा राख्न सक्ने व्यवस्था रहेको बताउँदै कार्कीले घटनाको प्रकृति हेरेर १० हजारदेखि लाखौं रुपैयाँसम्म जरिवाना गर्न सकिने बताए । त्यसैले रमाइलाको नाममा तडकभडक नगरी मौलिक संस्कृतिलाई अपनाउँदै तिहार मान्नु पर्ने उनको सुझाव छ ।
यस्तै, चाडपर्व अथवा मेलाको अवसर पारेर जुवा खेल्ने प्रचलन पनि व्यापक छ । तिहार झन् नेपालीको मुख्य चाडपर्व भएकाले साथी भेला परेर अधिकांश जुवातास खेल्नमै लाग्छन् । तर, जुवातास खेल्दै गरेको वा खेलाएको आरोपमा प्रहरीले पक्राउ गरेमा सजाय पनि ठुलै भोग्नुपर्ने हुन्छ ।
जुवा खेल्ने वा खेलाउनेलाई २०७५ सालको मुलुकी अपराध संहिताको दफा १२५ बमोजिम कारवाही हुने व्यवस्था छ । पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना हुन्छ ।
यसैगरी दोस्रो पटक प्रहरीले उक्त व्यक्तिलाई पक्रिए एक वर्षसम्म कैद तथा ५० हजारसम्म जरिवाना हुने विषय उल्लेख गरिएको छ । र, तेस्रो पटक पनि पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।
हेर्नुहोस्, भिडियो-





























प्रतिक्रिया