साम्बाका आमाबुबा भन्छन्- ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौं’

साम्बाका आमाबुबा भन्छन्- ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौं’

केन्द्रबिन्दु
252
Shares

लमजुङ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला काठमाडौँमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त छिन् । उनी नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुन् । गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले ‘साम्बा’ अरु नेपाली खेलाडीभन्दा बढीजसो चर्चामा छिन् ।

हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी भण्डारी सोमबार नेपाल र भारतबीचको सेमिफाइनलपछि झन चर्चामा छिन् । नेपाललाई विजयी गराउँदै फाइनलमा पु¥याएसँगै भण्डारीको चर्चा चुलिएको छ । खेलमार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भण्डारी लमजुङको तत्कालीन सिम्पानी गाविस–७ हाल मस्र्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किएकी हुन् । थमन भण्डारी र मुना भण्डारीको कोखबाट माइली छोरीका रुपमा जन्मिएकी उनको जन्म भने २०५३ जेठ १५ गते हिमाली जिल्ला मनाङस्थित चामेमा भएको हो ।

भण्डारीका बुबा थमन र आमा मुना छोरीको प्रगति देखेर दङ्ग छन‍् । उनकी आमा मुनाले भनिन्, “हामीले दुःख गरेर हुर्काएकी छोरी हो, केही गर्छिन् भन्ने त लाग्थ्यो । तर फुटबल खेखेर यति प्रगति गर्छिन् भन्ने हामीले सोचेकै थिएनौँ ।” भण्डारी नौ/दश वर्षको उमेरदेखि साथीभाइ बटुलेर फुटबल खेल्थिन् । “जति बेला पनि फुटबल मात्र खेल्ने, काम गर्न लगायो भने काम गरेजस्तो गर्ने, हाम्रो आँखा छलेरै फुटबल खेल्थिन् ।”

भण्डारीका बुबा–आमाले अह्राएको काम नगरेर खाली फुटबल मात्र खेलेको देख्दा उनलाई दिनुहुँ गाली गर्थे । उनलाई भने बुबा–आमाको गालीको कुनै पर्वाह हुन्थेन । साम्बाको एउटै मात्र उद्देश्य थियो, जसरी पनि सफल फुटबल खेलाडी बन्ने र नेपालको टोलीबाट खेल्ने ।

“काम छोडेर खेल्न मात्र जाने भनेर हामी छोरीलाई सधैँ कराउँथ्यौँ, हामीलाई त्यति बेला सबैभन्दा ठूलो घरको काम गर्नु नै हुन्थ्यो, तर ऊ काम, पढ्नभन्दा फुटबल खेल्न मात्र खोज्ने” भण्डारीकी आमा मुनाले भनिन्, “काली धेरै बल मात्र खेल्न खोज्ने भन्दै कुट्ने पनि गरेँ, हामीलाई त्यति बेला यस्तो राम्रो फुटबल खेलाडी हुन्छिन जस्तो लाग्दैनथ्यो ।”

आमा मुना साम्बालाई निकै दुःखले हुर्काएको बताउँछिन् । “सानैदेखि हामीले साँझ बिहान घाँस काट्न मात्र लगाउँथ्यौँ, अरु धेरै काम त हुँदैनथ्यो, केटीले गर्नेभन्दा केटाहरुले गर्ने काम बढी गर्न खोज्ने बानी थियो । १४/१५ वर्षको उमेरमा उसले गोरु जोत्न थालिन, आली लगाउने, चाडपर्वमा गाउँमा अरूको खसीबोका मार हान्दै हिँड्थिन्”, आमा मुनाले गाउँमा छँदा साम्बाको दिनचर्या सुनाइन् ।

सावित्रा जतिबेला पनि मोजाको बल लुकाएर विद्यालय जान्थिन् । अरु बेला पनि बलसँगै लैजाने गर्थिन् । गाउँमा साथीभाइ बटुलेर जतिबेला पनि फुटबल खेल्ने गरेकी उनका बुबा थमन बताउँछन् । “प्रायःजसो केटी साथीहरुभन्दा पनि केटा साथीहरु । अझ ठूल्ठुला दाइहरुसँगै बल खेलेर हुर्किएकी हुन्”, उनले भने ।

सावित्राका लागि सबैभन्दा महत्वपूर्ण काम फुटबल खेल्नु मात्र हुन्थ्यो । “जति बेला पनि बल खेल्ने । त्यो पनि बढीजसो केटाहरुसँग खेल्ने हुँदा गाउँलेहरुले छोरी मान्छे भएर पनि केटाहरुसँग बल खेलेर हिँड्छ भन्दै तेरो छोरी बिग्रियो भनेर कुरा काट्ने गर्दथे, तर अहिले उसैले गाउँको जिल्लाको र देशकै नाम राखेको छ, आज समय बदलियो, हिजो कुरा काट्ने उनै गाउँलेहरु प्रशंसा गर्दै हिँडेका छन्”, बुबा थमनले भने ।

पहिला पनि र अहिले पनि सावित्राको काम फुटबल खेल्नु मात्रै भयो । उनले देशकै नाम राख्न सफल भएकामा बुबा आमा औधी खुसी छन् । बुबा थमनले भने, “सावित्राको स्वभाव छोरा मान्छेको जस्तो छ, १० वर्षको उमेरदेखि नै छोटो छोटो कपाल बनाउने, सर्ट पाइन्ट लगाउने, कुर्ता सुरुवाल लगाउन मान्दैन थिइन् । छोरी मान्छेले भन्दा छोरा मान्छेले गर्ने काम नै गर्न बढी रुचाउँथ्यो ।”

सावित्राका बुबा थमन स्वास्थ्य कार्यालय मनाङमा कार्यालय सहयोगीको जागिरे थिए । मनाङमै हुँदा सावित्राको जन्म भएको हो । उनी चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयमा नर्सरीमा भर्ना भइन् । पछि पाँच वर्षको उमेर हुँदा आमा मुनासँगै लमजुङ फर्किए । बुबा थमन भने जागिरका सिलसिलामा मनाङमै बढीजसो बसे ।
उनले मनाङमा २०४४ सालमा जागिर खाए । विसं २०४६ मा उनी स्थायी भएर ३४ वर्ष सेवा गरेर मात्र थमन लमजुङ फर्किए ।

“त्यो बेलामा मेरो एउटा जागिरले घर व्यवहार चलाउनेदेखि चार छोरी, दुई छोरालाई पढाउन हुर्काउन निकै समस्या थियो । तर अहिले हामीलाई छोरी सावित्राले हेरेको छ । अब हामीलाई पहिलाको जस्तो दुःख छैन”, बुबा थमनले खुसी हुँदै भने ।

सावित्राका बाबुआमासँगै आफन्तजन तथा गाउँलेको धोको साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको हेर्ने छ । सावित्राले लमजुङस्थित गाउँको खेतका गहरादेखि दशरथ रङ्गशाला हुँदै युरोपको रङ्गाशालासम्मको यात्रा तय गरेकामा गाउँका सबै खुसी छन् ।

Skip This
Skip This
Logo