राजधानीकै सरकारी विद्यालय विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा

राजधानीकै सरकारी विद्यालय विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
सीता घिमिरे काठमाडौं मख्खनस्थित तारिणी आधारभूत विद्यालयमा प्राथमिक तहकी शिक्षिका हुन् । उनी दैनिक विद्यालय जान्छिन् । तर पढाउनु पर्दैन । उनको काम विद्यालय भवन कुर्नु जस्तै भएको छ ।

किनकि विद्यालयमा विद्यार्थी छैनन् । ‘विद्यार्थी भर्नाको बेला ११ जना थिए । अहिले आउन छोडे’, उनले भनिन्, ‘विद्यार्थी नआएपछि हाम्रो दिनचर्या स्कुल आउने जानेमै बितिरहेको छ ।’ स्कुुलमा दुई शिक्षक र एक कार्यालय सहयोगी छन् । पढाउन नपरेपछि दुई जना पालैपालो विद्यालय आउँछन् । ‘२०७२ सालको भूकम्पले स्कुल वरिपरिका भवन भत्कायो । बाटो पनि छेक्यो । त्यही भएर विद्यार्थी आउन छाडे’, प्रधानाध्यापक रेवती शर्माले भनिन् ।

कुनै बेला विद्यार्थीको चाप बढी भएर कक्षा १० सम्मकै पढाइ हुने विद्यालयलाई पछिल्लो समय विद्यार्थी घटेपछि पाँच कक्षासम्म मात्र झारिएको छ । विद्यालय २०१६ सालमा खोलिएको हो ।

काठमाडौंको पुरानो बस्ती इटुुम्बहालस्थित २०१४ सालमा स्थापना भएको केशचन्द्र प्राथमिक विद्यालयमा पनि दुई शिक्षक छन्— प्रधानाध्यापक राजेश महर्जन र विमल पौडेल । उनीहरूले पनि पढाउनुु पर्दैन। गुुठीको घरमा सञ्चालित विद्यालयमा डेस्क, बेन्च, केही थान सुकुल र कुुर्सी कुर्न मात्र बसे जस्तो लाग्छ । ‘पाँच जना विद्यार्थी भर्ना भएका थिए । अहिले आउँदैनन्’, महर्जन भन्छन् । विद्यार्थी नभएपछि शिक्षक पनि व्यक्तिगत काम नभएको दिन मात्र स्कुल आउँछन् । माघ अन्तिम साता उक्त स्कुल पुग्दा महर्जन एक्लै थिए । ‘अर्को सर काम परेर बाहिर जानु भएको छ’, उनले भने ।

सामुदायिक विद्यालयको स्तर सुधार्न र विद्यार्थी आकर्षण बढाउन राज्यले थुपै्र नीति तथा कार्यक्रम ल्यायो । तर कार्यान्वयन नहुँदा यस्ता विद्यालयप्रति विद्यार्थी विकर्षण बढिरहेको छ । तारिणी र केशचन्द्र त्यस्तै केही उदाहरण मात्र हुन् । राजधानीमा सरकारी लगानीमा सञ्चालित धेरै विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा छन् । तर स्पष्ट सरकारी नीति नबन्दा यस्ता विद्यालय शिक्षक–कर्मचारीलाई तलब खुवाउने थलो मात्र बनेका छन्, यसले वार्षिक रूपमा राज्यकोषमा करोडौं व्ययभार थपिएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo