सिंहदरबार घरदैलोमा पुर्‍याउने अभियानमै छौँ : उपराष्ट्रपति पुन

सिंहदरबार घरदैलोमा पुर्‍याउने अभियानमै छौँ : उपराष्ट्रपति पुन

केन्द्रबिन्दु
0
Shares

भीमदत्तनगर
उपराष्ट्रपति नन्दबहादुर पुनले जनताले चाहेको सिंहदरबार घरदैलोमा पुर्‍याउने अभियान जारी रहेको बताउनु भएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिकाले बुधबार दोधारा–चादँनी झोलुङ्गे पुल छेउमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा उपराष्ट्रपति पुनले नयाँ संरचना अनुसार काम गर्न केही चुनौती र केही नयाँ अनुभव लिनुपर्ने भएकाले अधिकार गाउँमा आउन केही समय लागेको आशय व्यक्त गर्नुभयो । सबै स्थानीय तहदेखि प्रदेशको राज्यसितको पहुँच पुगिसकेको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेश पर्यटन, जलस्रोत र जडीबुटीको अथाह सम्भावना बोकेको प्रदेश रहेको उपराष्ट्रपति पुनको भनाइ थियो ।

“हिमशृङ्खलादेखि तराइको फाँट र चीनदेखि भारतसित जोडिएको यो प्रदेशसित आयको राम्रो स्रोत छ,” उहाँले भन्नुभयो, “शुक्लाफाँटादेखि झोलुङ्गे पुल लगायत ऐतिहासिकस्थलले भरिपूर्ण छ ।” उपराष्ट्रपति पुनले देश बनाउन तथा राष्ट्र, राष्ट्रियता र स्वाधीनता रक्षाका लागि सबै प्रतिबद्ध रहेको बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै झोलुङ्गे पुलको अवलोकन गर्न पुग्नुभएका पुनले दोधारा–चादँनी झोलुङ्गे पुलमा पैदल यात्रा गर्नुभयो । एक हजार ४५६ मिटर लम्बाइ भएको सो झोलुङ्गे पुलमा पैदल हिँडेर उहाँ महाकाली नदी पारि दोधारा–चादँनी पुग्नुभएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुुअघि उपराष्ट्रपति पुनलाई शुक्लाफाँटा निकुञ्ज कार्यालयले निकुञ्जमा रहेका वन्यजन्तु लगायतको विषयमा जानकारी गराएको थियो । निकुञ्जभित्रको ५५ वर्गकिलोमिटर क्षेत्रफल भएको घाँसे मैदान पुगेर बाह्रसिङ्गाको अवलोकनपछि उपराष्ट्रपति पुन निकुञ्जभित्रै रहेको हात्तीसार पुग्नुभएको थियो ।

उपराष्ट्रपतिसँगै उहाँकी धर्मपत्नी हस्तमाली पुन, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल, प्रदेश सभामुख अर्जुनबहादुर थापा लगायत साथमा हुनुहुन्थ्यो । बिहीबार उहाँले यहाँको बेदकोट नगरपालिकामा शुरु हुन लागेको ‘बेदकोट धार्मिक तथा पर्यटन मेला’को उद्घाटन गर्ने कार्यक्रम छ । रासस

Skip This
Skip This
Logo