ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित, ‘स्वीङ स्टेट’ पनि उनकै पोल्टामा

ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित, ‘स्वीङ स्टेट’ पनि उनकै पोल्टामा

केन्द्रबिन्दु
195
Shares

काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपतिमा विजयी भएका हुन् ।

अमेरिकाको राष्ट्रपति चुनावमा सरप्राइज दिने भनिएका ‘स्वीङ स्टेट’मध्ये फ्लोरिडा, नर्थ क्यारोलिना, विस्कन्सन,र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलो अन्तरले अगाडि छन् । रिपब्लिकन उम्मेदवार ट्रम्पले मतगणना सुरू भएदेखि नै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै आएकी थिए। ट्रम्प अहिले पपुलर मतमा पनि अगाडि छन्। ट्रम्पले झण्डै ७ करोड १० लाख मत पाउँदा ह्यारिसले ६ करोड ६० लाख बढी मत प्राप्त गरेकी छन्।

तर अमेरिकामा पपुलर मतले नभई इलेक्टोरल मतबाट राष्ट्रपतिको छिनोफानो हुन्छ । ताजा अवस्थामा रिपब्लिकन नेता ट्रम्पले २७७ इलेक्टोरल मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी ह्यारिसले २२४ इलेक्टोरल मत प्राप्त गरेकी छन् । अमेरिकाको ५० राज्यमा ५३८ इलेक्टोरेल मत अर्थात् सिटका लागि चुनाव भएको हो । बहुमतका लागि २७० सिट जित्नुपर्ने हुन्छ । यो भन्दा ट्रम्पले ७ सिट बढी जितिसकेका छन् ।

यो समाचार तयार पार्दासम्म स्वीङ स्टेटमध्ये मिचिगन, एरिजोना र नाभाडामा ट्रम्प धेरै अगाडि छन् । यसमध्ये १५ इलेक्टोरल मत रहेको मिचिगनमा ९५ प्रतिशत बढी मतगणना हुँदा ट्रम्पले नै बाजी मार्ने देखिन्छ । यसअघि जो बाइडेनसँगको प्रतिस्पर्धामा ट्रम्पले ७ ‘स्विङ स्टेट’ मध्ये ६ वटा गुमाएका थिए। तर, यो पटक फिर्ता ल्याएका छन् ।

पहिले राष्ट्रपतिका लागि ह्यारिस र ट्रम्पबीच निकै कडा प्रतिस्पर्धा हुने र झिनो मतान्तरका साथ ह्यारिसले जितेर इतिहास रच्ने विभिन्न अनुमान लगाइएको थियो । तर, त्यसो हुन सकेन र अमेरिकी जनताले ट्रम्पलाई नै रोजे । ट्रम्प सन् २०१६ मा पहिलोपटक राष्ट्रपति चुनिएका थिए । चार वर्षको कार्यकाल सकिएपछि सन् २०२० को निर्वाचनमा पनि उनले प्रतिस्पर्धा गरेका थिए । तर उनी डेमोक्रेटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए । योपटक पनि बाइडेन नै उठ्ने तयारीमा थिए, तर मानसिक र शारिरीक रुपमा कमजोर देखिएपछि बाइडेनले आफ्नै कार्यकालमा उपराष्ट्रपति रहेकी ह्यारिसलाई अगाडी बढाएका थिए । तर, जनताले चुनेनन् ।

यता ट्रम्पले आफूले जितेको घोषणा गरिसकेका छन् । बुधवार फ्लोरिडामा समर्थकले भरिएको एक हलमा सभाको आयोजना गरेर उनले आफू ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका हुन् । ‘४७ औँ र ४५ औँ राष्ट्रपति निर्वाचित गरेर दिएको असाधारण सम्मानका लागि अमेरिकी जनतालाई धन्यवाद दिन चाहन्छु,’ ट्रम्पले भने । आफ्नी पत्नी मेलानिया ट्रम्पसहित विजयी सम्बोधन गर्न मञ्चमा उभिएका ट्रम्पले पत्नी मेलानियालाई ‘फर्स्ट लेडी’ भनेर बधाई समेत दिए ।

यस्तै, ट्रम्पले आफ्नो जित अमेरिकी जनताका लागि सानदार जित रहेको बताउँदै देशको उन्नतीमा ‘स्वर्ण युग’ बनाउने घोषणा गरे । ट्रम्पले जितको खुसीयाली मनाउन थालेपनि मतगणना अझै पनि जारी छ र औपचारिक नतिजा आउन केही समय लाग्नेछ ।

तर, यसबीचमै ट्रम्पलाई विश्व समुदायबाट बधाईको ओइरो लाग्न थालेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्रम्पलाई जितको बधाई दिँदै उनको अघिल्लो कार्यकालजस्तै आपसमा मिलेर सहकार्य गर्न इच्छुक रहेको जनाएका छन् । बेलायतका प्रधानमन्त्री किर स्टार्मर, इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहु, युक्रेनका राष्ट्रपति भ्लादिमिमिर जलेन्स्की, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ, इटालीका प्रधानमन्त्री ज्योर्जा मेलोनी, फ्रेन्च राष्ट्रपति इमानुएल माक्रों, हङ्गेरीका प्रधानमन्त्री ओर्बान भिक्टरलगायतले बधाई दिइसकेका छन् ।

Logo