अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकलाई

अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकलाई

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ ।

बुटवलमा सम्पन्न अन्तरबैंक फुटसल प्रतियोगितामा एनएमबी बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैंक विजयी भएको हो ।

ग्लोबल आइएमईले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको एनएमबी बैकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा २९ टिमबीच प्रतिस्पर्धा भएको थियो ।

यस्तै प्रतियोगितामा ग्लोबल आइएमई बैंकका बमबहादुर भुजेल सर्वोत्कृष्ट खेलाडी बन्न सफल भने ग्लोबल आइएमई बैंककै दुर्गा ओलीले १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए ।

यस्तै सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैंकका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैंकका दुर्गा ओली बन्न सफल भएको आयोजकले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदीको प्रमुख आतिथ्यमा समापन कार्यक्रमको आयोजना गरिएको हो । उपाधि विजेता, उपविजेता तथा खेलाडीहरूलाइ नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा साइन रेसुङ्गा डेभलपमेन्ट बैक, सहप्रायोजकमा ग्लोबल आइएमई बैंक तथा मिडिया पार्टनरमा बुद्ध टेलिभिजन रहेका थिए ।

Logo