(रामजी बलामी)
सर्वाधिक पुरस्कार राशी रहेको धनगढी प्रिमियर लिग (डीपीएल) आजबाट शुरु भएको छ । गत शनिवारदेखि शुरु हुने भनिएको डीपीएल प्रतियोगिता भारी बर्षातका कारण सोमबारलाई सारिएको हो ।
प्रतियोगितामा धनगढी स्टार्स, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सीवाइसी अत्तरीया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन् । सबै टिममा अक्सनबाट १२÷१२ जना खेलाडी छनौट गरिएको छ भने एक रणनीतिक र २ जना विदेशी खेलाडी रहेका छन् । प्रतियोगिताका विजेतालाई ३० लाख रुपैँया र उपविजेतालाई १२ लाख रुपैँया पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै तेश्रो हुनेलाई ४ लाख रुपैंया र चौथो हुनेलाई २ लाख रुपैंया पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा मष्ट भ्यालुएबल प्लेयर, म्यान अफ द म्याच, बेष्ट बलर लगायतलाई समेत पुरस्कार प्रदान गरिने छ ।
क्रिकेटरलाई मात्रै होईन दर्शकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । छक्का हानेको बल बाउन्ड्री बाहिर समाउने दर्शकलाई १० हजार रुपैंया दिने आयोजकले जनाएको छ । त्यस्तै हरेक दिन एक जना दर्शकलाई लक्की ड्रबाट ५ हजार रुपैंयाको नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको अन्तिममा धनगढी क्रिकेट सम्मान र अर्जुन खड्का स्मृति सम्मान पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि ५ हजार जना क्षमताको प्याराफिट निर्माण गरिएको छ भने टिकट दर लिग चरणका लागि ५० रुपैंया, प्ले अफका लागि ७० रपैंया र फाइनलका लागि एक सय रुपैंया तोकिएको छ । प्रतियोगिताको सबै खेलहरु फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने छन् । प्रतियोगिताको सद्भावनादूतका रुपमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्सलाई नियुक्त गरिएको छ ।
कुन टिम कति बलियो ?
हरेक टिम र हरेक खेलाडीको अन्तिम चाहना नै हो प्रतियोगिताको उपाधि जित्ने । त्यकारण सबै खेलाडी उपाधि जित्ने मनशायका साथ नै मैदानमा उत्रन्छन् तर सबैले सोचेको जस्तो परिणाम हात पार्न सक्दैनन् । डीपीएल प्रतियोगितामा पनि सबै टिमले उपाधि जित्ने दावी गरेका छन् । त्यसो त सबै टिममा एकसेएक खेलाडीहरु छन् । ६ वटै टिममा स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी समावेश छन् । सबै टिम उपाधिका दाबेदार हुन् तर उपाधि कसको पोल्टाको पर्ने हो त्यो भने फाइनल खेलपछि मात्रै थाहा हुन्छ । अहिलेलाई भने कुन टिमको को–को खेलाडी समावेश छन् र समग्रमा टिमको अवस्था कस्तो छ, त्यसबारे जानी राखौ ।
धनगढी स्टार्स
धनगढी स्टार्सको पुरानो नाम हो टिम चौराह धनगढी । यो टिमले यसअघिका दुबै संस्करणको उपाधि जितेको थियो । धनगढीलाई यसपटक भने उपाधि जोगाउने चुनौती छ । तर, कप्तान सोमपाल कामीले भने ताज जोगाउन सक्ने दावी गरेका छन् । यो टिमको ब्याटिङ राम्रो हुने अपेक्षा गरिएको छ । धनगढीको टिममा यूएईका कप्तान रोहन मुस्तफासहित युएईकै तिव्रगतिका बलर आमिर हायत पनि छन् । स्मरणहोस्, रोहन डीपीएल दोश्रो सिजनको सर्वाेत्कृष्ट खेलाडी समेत हुन् । टोलीमा सुनिल धमला, पवन सर्राफ, सौरभ खनाल, अमित श्रेष्ठ, राजु रिजाल, हरिबहादुर चौहान, दीपेश श्रेष्ठ, विपिन खत्री, रोविन क्षेत्री जस्ता खेलाडीहरु छन ।
सिवाइसी अत्तरिया
यो टिमका कप्तान हुन् दीपेन्द्रसिंह ऐरी । सिवाइसीले प्रशिक्षकमा पूर्व अफगानिस्तान तथा वेस्ट इण्डिजका फिल्डिङ प्रशिक्षक समेत रहेका दक्षिण अफ्रिकाका रायन मारोन हुन् भने मेन्टरमा पूर्व दक्षिण अफ्रिकी खेलाडी जोन्टी रोड्स रहेका छन् । हालै सम्पन्न यूएईसँगको खेलमा अर्धशतकीय पारी खेलेका सन्दीप जोरा पनि यही टिममा छन् । यो टिममा भारतीय खेलाडी सन्नी पटेल र जयकिशन कोल्सावाला छन् । यसका साथै यो टिममा कमलसिंह ऐरी, भुवन कार्की, जितेन्द्रसिंह कार्की, रित गौतम, प्रेम तामाङ, सुवेन्दु पाण्डे, रामनरेश गिरी लगायत छन् । कप्तान दीपेन्द्रले मेन्टर र प्रशिक्षक दुबै विदेशी भएकाले टिमको हौसला बढेको बताएका छन् । यो टिमको ब्याटिङ र बलिङ दुबै औषत छ ।
विराटनगर किंग्स
विराटनगर किंग्स, पहिलो संस्करणको डीपिएलको उपविजेता टिम हो । यसपटक यो टिमको कप्तान हुन् करण केसी । टोलीमा आसिफ सेख, कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, सुशान भारी, हरिशंकर शाह, सम्सांद शेख, राजेश पुलामी मगर जस्ता खेलाडीहरु छन् । यो टिमले भारतका शुभाकान्त शुक्ला र अविनाश यादवलाई अनुबन्ध गरेको छ । तिव्र गतिका बलर कप्तान करणले उपाधि जित्ने दावी गरेका छन् ।
रुपेन्देही च्यालेन्जर्स
यो टिमका कप्तान हुन् बसन्त रेग्मी । यो टिममा रहेका अन्य खेलाडीहरुमा भीम सार्की, प्रदीपसिंह ऐरी, विनोद भण्डारी, विक्रम सोब, ललितसिंह भण्डारी, सन्दीप सुनार, कृष्ण कार्की, पुरन विक, अनिल खरेल, सुमित महर्जन, सुरज दराई, भीम सार्की र शेर मल्ल रहेका छन् । रुपेन्देहीले हङकङका कप्तान बाबर हायत र पाकिस्तानका राजा बलि डरलाई अनुबन्ध गरेको छ । टिममा राष्ट्रिय खेलाडीहरुको बलियो उपस्थिती छ ।
महेन्द्रनगर यूनाइटेड
प्रतियोगिताको उपाधि दाबेदार अर्काे टिम हो महेन्द्रनगर यूनाइटेड । यो टिमका कप्तान हुन् शरद भेषावकर । यो टोलीमा रोहितकुमार पौडेल, अविनाश बोहरा, अमरसिंह रौटेला, सागर ढकाल, दीलिप नाथ, सिद्धान्त लोहनी, साहब आलम, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र चन्द, सन्तोष भट्ट र सुशिल खड्का रहेका छन् । महेन्द्रनगरले विदेशी खेलाडीका रुपमा यूएईका कप्तान तथा तीव्रगतिका बलर मोहम्मद नाभिदलाई अनुबन्ध गरेको छ । नाभिदको विष्फोटक ब्याटिङ टोलीका लागि आशातित लक्षण हो ।
काठमाडौं गोल्डेन्स
काठमाडौं गोल्डेन्स, गत संस्करणको उपविजेता टोली हो । यो टिमका कप्तान हुन् ज्ञानेन्द्र मल्ल जो राष्ट्रिय टोलीका उपकप्तान समेत हुन् । यो टिममा ललितनारायण राजवंशी, रासिद खान, विक्रम भुषाल, योगेन्द्रसिंक कार्की, सोनु तामाङ, मेहबुब आलम, नन्दन यादव, अभिनव यादव, अनिलकुमार शाह, सूर्य तामाङ, सुधिर चौधरी, विक्रम ठगुन्ना छन् । यो टिममा भारतका गौरव तमोर र अंकित दाबस अनुबन्ध भएका छन् । यो टिमका बलरहरु पनि धेरे राम्रा छन् । साथै यो टिममा विदेशी खेलाडीहरुको ब्याटिङ पनि भरपर्दाे छ ।
हेर्नुहोस् भिडियो रिपोर्ट































प्रतिक्रिया