एकासी वर्षमा बल्ल नागरिकता

एकासी वर्षमा बल्ल नागरिकता

केन्द्रबिन्दु
3
Shares

दमौली

तनहुँको बन्दीपुर गाउँपालिकामा शनिबार आयोजित घुम्ती शिविरमा ८१ वर्षीया टीकामाया थापाले नागरिकता प्राप्त गर्नुभएको छ ।

जनतालाई घरदैलोबाट सेवा दिने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको समन्वयमा गरेको घुम्ती शिविरबाट बन्दीपुर गाउँपालिका–४ निवासी ८१ वर्षीया टीकामाया थापाले नागरिकता प्राप्त गर्नुभएको हो ।

वि.सं १९९४ जेठ ९ गते जन्मिनु भएका उहाँलाई गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले नागरिकता प्रदान गर्नुभएको थियो । शिविरबाट १४४ लाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोकराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ७७ महिला र ६७ पुरुषलाई नागरिकता वितरण गरिएको छ ।

यसैगरी फोटोसहितको मतदाता नामावलीमा १५० ले नाम दर्ता गराएका छन् । हरेक महीना एउटा स्थानीय तहमा पुगी जनतालाई सेवा दिने उद्देश्यले प्रशासनले माघको अन्तिम साता बन्दीपुर गाउँपालिकामा घुम्ती शिविर आयोजना गरेको प्रजिअ भरतकुमार शर्माले जानकारी दिनुभयो ।

सोही अवसरमा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुनुवाइसमेत आयोजना गरेको थियो । सार्वजनिक सुनुवाइमा स्थानीयवासीले उठाएका जिज्ञासाका सम्बन्धमा प्रजिअ शर्माले जवाफ दिनुभएको थियो ।

जनतालाई घरदैलोमा नजीकबाट सेवा पु¥याउने उद्देश्यले स्थानीय तहसँग समन्वय गरी हालसम्म आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका, भिमाद नगरपालिका र रिसिङ गाउँपालिकामा घुम्ती शिविर सम्पन्न भइसकेको छ ।
रासस

Skip This
Skip This
Logo