‘फीन इलेक्ट्रो टेक मेलाले अर्थतन्त्रलाई चलायमान बनाउन र गुणस्तरीय सामग्री छनोटमा मद्दत गर्नेछ’

‘फीन इलेक्ट्रो टेक मेलाले अर्थतन्त्रलाई चलायमान बनाउन र गुणस्तरीय सामग्री छनोटमा मद्दत गर्नेछ’


काठमडौं ।  विद्युत तथा विद्युतीय क्षेत्रको सर्वाङ्गीण विकास एवं सम्बन्धित पेसागत व्यवसायीहरूको हकहितका लागि नेपाल विद्युतीय व्यवसायी महासंघ समर्पित संस्था रहेको यहाँहरूलाई विदितै छ । हाल नेपालमा करिब ३ हजार ११ मेगावाट विद्युत उत्पादन भइरहेको छ । पिक आवरमा २६ सय ५० मेगावाट डिमाण्ड रहेको अवस्थामा विद्युतीय सामाग्रीको बजार करिब १ खर्ब २५ अर्ब रहेकाले र हाल सरकारको लक्ष्य सम्ममा ३८०० मेगावाट पुर्याउने रहेको हुँदा विद्युतीय सामग्रीहरूको बजार पनि वृद्धि भई २ खर्व २५ अर्ब रुपैयाँको बजार हुने हाम्रो अनुमान रहेको छ । 

जसले गर्दा विद्युतीय सामाग्रीको बजार वृद्धि हुनका साथै स्वदेशमा नै उत्पादन गर्ने वातावरण बन्छ भन्ने हाम्रो विश्वास छ । यसैका लागि महासंघले आफ्नो तर्फबाट निरन्तर प्रयासरत रहँदै कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । यही पृष्ठभूमिमा महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं दिगो वैकल्पिक ऊर्जा उद्यमीहरू एकै स्थानमा जमघटको अवसर जुटाई व्यवसायिक प्रवर्द्धन गर्दै पनि आएको छ । 

उद्योगमा भएका नवीनतम उपलब्धिहरू बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गलाई यस सम्बन्धी जानकारी अद्यावधिक गराउँदै व्यवसायी, नीति निर्माता र सरोकारवाला पक्षबीचको सम्बन्ध घनिभूत तुल्याई बजारको सिर्जना गरी राष्ट्रको विकाश गर्ने महान कार्यमा उपयोग गर्न सक्याैं भन्ने उद्देश्यका साथ ‘इलेक्ट्रो टेक’ को अवधारणा ल्याएका हौं । अन्तर्राष्ट्रिय स्तरको यस प्रकारको प्रदर्शनी तथा गोष्ठी नेपालमा पहिलो पटक सन् १९९६ देखि सुरु भएको हो ।  

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा गरिएको अन्तर्राष्ट्रिय स्तरको इलेकट्रिकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनीको एघारौं संस्करण फिन इलेक्ट्रो टेक भृकुटीमण्डपमा  आज (कार्त्तिक २९ गते)बाट सुरु भई मंसिर २ गतेसम्म चल्ने छ । यस प्रदर्शनीलाई सहभागीमूलक एवं सूचनामूलक बनाउनका लागि विभिन्न विषयमा गोष्ठी/सेमिनार, नवीनतम प्रविधिलाई आत्मासाथ गर्दै कार्यक्रममा आयोजना गरिने छ ।  

यस प्रदर्शनीमा राखिएका सम्पूर्ण सामाग्री तथा प्रविधिको अवलोकनबाट आवश्यकताको सृजना गरी व्यवसाय प्रवर्द्धन गर्दछ । जसले शिथिल रहेको अर्थतन्त्रलाई चलायमान गराउने विश्वास रहेको छ भने गुणस्तरीय सामग्रीको छनौटमा समेत सहभागीलाई सहयोग गर्ने अपेक्षा लिएका छौं । प्रदर्शनीमा ५० हजार भन्दा बढी आगन्तुकहरूले अध्ययन अवलोकन गर्ने विश्वास हामीले लिएका छौं । 

आम उपभोक्तालाई पनि नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष “प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” को नारा लिएर मेला आयोजना हुँदैछ । विद्युतीय क्षेत्र अत्यन्त संवेदनशील क्षेत्र भएकोले सानो त्रुटिले पनि आगलागी तथा ठूला दुर्घटना भई जनधनको क्षति समेत हुन सक्ने हुँदा आम उपभोक्ताहरूमा विद्युतीय सामग्रीको गुणस्तर र सुरक्षित उपयोगका सम्बन्धमा सचेतना जगाउन यस आयोजनाले नयाँ आयाम थप्नेछ । 

गुणस्तरीय बस्तु टिकाउ हुने र यसको प्रयोगले दिगो ऊर्जा खपत गर्ने र इन्धनको बचत गर्नमा मद्दत पुर्याउने छ । आम उपभोक्तालाई आर्थिक लाभ र वातावरणमैत्री समेत हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।

उत्पादक, व्यवसायी र उपभोक्ता एउटै छानामुनि ठाउँमा हुने भएकाले नेटवर्कीङ्गको र साझेदारीको महत्वपूर्ण प्लेटफर्म सृजना गर्ने छ । उत्पादक तथा व्यवसायीहरूलाई बजारको प्रवृत्ति बुझी भविष्यका लागि व्यवसायीक रणनीति तयार गर्न सहज हुनेछ । यस प्रदर्शनीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनको प्रदर्शनी, दिगो वैकल्पिक ऊर्जा लगायत ऊर्जासँग सम्बन्धित सबै पक्षका सम्बन्धमा मेलामा यथेष्ट जानकारी हासिल गर्ने अवसर मिल्नेछ । 

प्रदर्शनीमा आयोजना गरिने गोष्ठी कार्यक्रमबाट विद्युतीय सामग्रीको गुणस्तर र प्रयोगको सम्बन्धमा यथेष्ट जानकारी लिन सकिने छ । यस प्रकारको आयोजनाले विद्युतीय क्षेत्रमा उत्पादन भएका तथा आयात गरिएका नयाँ प्रविधि एवं अन्तर्राष्ट्रिय लगानी भित्रिने र ९० प्रतिशत आयात हुने हाम्रो विद्युतीय क्षेत्रमा उत्पादन गर्ने अवसर नेपाली उद्योगी व्यवसायीहरूलाई प्राप्त हुन्छ । देशको औद्योगिकीकरणमा समेत सहयोग पुग्ने अपेक्षा हामीले राखेका छौं ।

विश्वले उत्पादन शुरु गरेको नवीनतम प्रविधिमा नेपाल र नेपाली उपभोक्ताहरूको पहुँच पुर्याउन निजी क्षेत्र र नेपाल सरकारको सहकार्यबाट मात्र सम्भव छ भन्ने हाम्रो बुझाइ रहेको छ । यसका लागि नेपाल सरकारले पर्याप्त मात्रामा वातावरण बनाउनुका साथै निजी क्षेत्रको जोस र जाँगरलाई सम्बोधन गर्ने सहज वातावरण तयार पार्न आवश्यक छ । कानूनी तथा औद्योगिक नीति नियमहरूको तत्काल परिमार्जन गर्न व्यवस्था मिलानमा सरकार लाग्नु पर्यो । 

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नको लागि यस किसिमको अन्तराष्ट्रिय स्तरको प्रदर्शनीलाई नेपाल सरकारबाट पनि सहयोग होस् भन्ने हाम्रो माग रहेको छ । विद्युतीय सामग्रीको प्रवर्द्धन र प्रचारप्रसार गर्न हाम्रो जस्तै भारत तथा चीनमा रहेका संस्थाहरूलाई यस्तो आयोजनामा विदेशी अवलोकन कर्तालाई भित्राउने उद्देश्यले त्यहाँको सरकारले आफ्नै राज्यको खर्चमा हामीलाई बोलाएको समेत अनुभव छ । आगामी दिनमा हाम्रो देशमा पनि स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नको लागि नेपाल सरकारबाट पनि यस प्रकारको सहयोग गर्न आग्रह गर्दछौं ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी गर्नका लागि पनि प्रदर्शनी हल जीर्ण रहेको हामी सबैलाई विदितै छ । यस किसिमका मेला आयोजना हुँदा ऊर्जा, अर्थ, उद्योग वाणिज्य, सहरी विकास र समाज कल्याण मन्त्रालय लगायत सरोकारवाला निकायहरूको सहकार्य एवं सहयोगको अपेक्षा राखेका छौं ।  

इलेक्ट्रो टेकको यस संस्करणमा टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) रहेको छ । प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा.लि.) रहेको छ । यसैगरी डायमण्ड स्पोन्सरमा अर्किड इलेक्ट्रिकल्स (अर्किड इलेक्ट्रिकल्स प्रा.लि.) र जानकी केबल (जानकी केबल इन्डस्ट्री प्रा. लि.) रहेका छन् । प्रदर्शनीको गोल्ड स्पोन्सरमा सि.एन.एस. (प्राइम भेन्चर्स प्रा.लि.), लिशा एण्ड टिन्ज (वेलकम टेक्नोल प्रा.लि.) स्विफट गोल्ड (बबिता ट्रेडर्स) र के.इ.आई. जनता (जनता केबल इन्डस्ट्रिज प्रा.लि.) रहेका छन् । 

यसैगरी अफिसिएल बैंकमा गरिमा विकास बैंक लिमिटेड र अफिसिएल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड रहेका छन् भने अफिसिएल क्यारियरमा ग्लोबल कलस लजिस्टीक रहेको छ । यसै गरी फ्लोरिङ पार्टनर हेरिटेज कार्पेट रहेको छ भने कार्डस्पोन्सरमा केइआई वायर एवं केबल (केइआई उद्योग लिमिटेड, इण्डीया) रहेको छ । डिजिटल पेमेन्ट पार्टनरमा रहेको खल्ती एप रहेको छ भने ग्लोबल एक्पोजीसनबाट व्यवस्थापन गरिरहेको छ ।

ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित ‘फीन इलेक्ट्रो टेक–२०२४’ को हलभित्र ४४ वटा ब्लकहरु, २८ स्टलहरु रहेको एक प्याभिलिएन रहेको छ र हल बाहिर डोममा १० वटा स्टलहरु रहेका छन् । फिन इलेक्ट्रो टेकमा हलभित्र र हलबाहीर गरी जम्मा ८२ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग,  इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । 

प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरूका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ । यस प्रदर्शनीको मुख्य आकर्षण नेपाली उत्पादनहरु तथा उपकरणहरू रहनेछन् ।

जलश्रोतको धनी मुलुकका रूपमा परिचित नेपालको यस एक मात्र अन्तर्राष्ट्रिय विद्युतीय महोत्सवको आयोजनाबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल प्रतिको लगानी क्षेत्रलाई विस्तार गर्न थप सहयोगी हुनका साथै सहभागी मुलुकहरूको माझमा यस आयोजनाको प्रस्तुतिले नेपालको प्रतिष्ठामासमेत अनुकूल प्रभाव पार्न सक्ने विश्वास हामीले लिएका छौं  । 

(नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले फीन इलेक्ट्रो टेक २०२४को उद्घाटन समारोहमा राखेको मन्तव्य)

Skip This
Skip This
Logo