काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को विदेश विभागको निमन्त्रणामा रसियन कम्युनिष्ट पार्टी (सिपिसीआर) को प्रतिनिधिमण्डल साताव्यापी भ्रमणका क्रममा काठमाडौँ आइपुगेको छ ।
रसियन कम्युनिष्ट पार्टी (सिपिसीआर)का अध्यक्ष तथा साइबेरिया क्षेत्रीय संसद् सदस्य सर्गेई मालिन्कोविचको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतका शीर्ष नेताहरूसँग भेट गर्ने छ ।
प्रतिनिधिमण्डलले अन्य कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग समेत भेटघाट गर्ने जनाइएको छ । उक्त प्रतिनिधिमण्डल आगामी मङ्सिर १ गते नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालयमा विदेश विभागले आयोजना गर्ने अक्टोबर क्रान्तिका सन्दर्भमा आयोजित एकदिवसीय गोष्ठीमा सहभागी हुनेछ ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले काठमाडौँ उपत्यकामा रहेका विभिन्न धार्मिक तथा सांस्कृतिक महत्त्वका पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्ने पार्टी एकीकृत समाजवादीका विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए । प्रतिनिधिमण्डलले पर्यटकीय नगरी पोखराको दुईदिने भ्रमण गर्नेछ । पोखरा भ्रमणका क्रममा प्रतिनिधिमण्डलले कम्युनिष्ट पार्टीका स्थानीय नेताहरूसँग भेटघाट गर्नेछ । प्रतिनिधिमण्डल आगामी मङ्सिर ५ गते मस्को फर्कने तालिका छ ।































प्रतिक्रिया