मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षण आजदेखि

मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षण आजदेखि

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सुरुआत गरेको मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण शनिबारदेखि सुरु हुने भएको छ ।

चालू आवको विशेष प्रशिक्षणमा पारा तेक्वान्दो र तेक्वान्दोसहित ११ खेल समावेश गरिए पनि हाललाई ९ खेलको मात्र शनिबारदेखि विशेष प्रशिक्षण सुरु हुन लागेको हो ।

पारा तेक्वान्दो र तेक्वान्दो खेलाडीको नाम उपलब्ध नभएकोले नाम उपलब्ध भएपछि तेक्वान्दोलाई पनि विशेष प्रशिक्षणमा समावेश गरिने छ । विशेष प्रशिक्षणमा ३७ पुरुष र ४८ महिला गरी ८५ खेलाडी सहभागी हुने राष्ट्रिय टिम तयारीका उप निर्देशक दीपक श्रेष्ठले जनाएका छन् । प्रशिक्षकको संख्या १९ रहेको छ ।

करातेमा समान ५–५ पुरुष÷महिला, बक्सिङमा ३ पुरुष र ५ महिला, उसुमा ५ पुरुष र ३ महिला, एथलेटिक्समा समान ४–४ पुरुष÷महिला तथा जुडो र कुस्तीमा समान ३–३ पुरुष÷महिला खेलाडी प्रशिक्षणमा सहभागी हुने छन् । कबड्डीमा समान १२–१२ पुरुष÷महिला तथा महिला भलिबलमा १२ खेलाडी हुने छन् । गल्फमा २ पुरुष र १ महिला खेलाडी सामेल हुने छन् ।

गत आवमा ५ खेलको छ महिना तथा थप ५ खेलको ३ महिना विशेष प्रशिक्षण सञ्चालन गरिएको थियो । कुनै पनि एसियाली खेलकुद सम्पन्न भए लगत्तै यति लामो समय आगामी संस्करणका लागि तयारी थालिएको पहिलो पटक हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले वैज्ञानिक, लामो र व्यवस्थित तयारीलाई मध्यनजर गर्दै गत आ।व। देखि मिसन– २०२६ को अवधारणा अनुरुप विशेष प्रशिक्षण थालिएको हो ।

एसियाली खेलकुदको कुनैपनि संस्करणमा नेपालले हालसम्म दोहोरो अंकमा जितेको छैन । एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्णविहीन पनि छ । सन् १९८६ मा दक्षिण कोरियको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान ४–४ गरी ८ कांस्य पदक जितेको थियो । संख्याका हिसाबले त्यो सिओल एसियाड नै नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको सर्वाधिक पदक हो ।

Logo