काठमाडौँ
आलु भारत र बंगलादेशबाट आयात हुने गरेको छ । आलुबाट उत्पादित विभिन्न खाद्यवस्तु भने भारत र बंगलादेशबाहेक चीन, बेल्जियम, मलेसिया लगायत विश्वका थुप्रै मुलुकबाट आयात हुन्छ । चालू आवको पाँच महिनामा भारतबाट ३ अर्ब २० करोड रुपैयाँको आलु आयात भएको छ । त्यस्तै बंगलादेशबाट ५१ लाख रुपैयाँबराबरको आलु आयात भएको विभागको तथ्यांक छ ।
अघिल्लो वर्ष भारतबाट ३ अर्ब ३७ करोड र बंगलादेशबाट १७ करोडको आलु आयात भएको थियो । स्वदेशी आलु उत्पादन बिस्तारै बढ्दै गएको छ । व्यवसायीका अनुसार अहिले स्वदेशी उत्पादनले ६ महिनाको माग धान्ने गरेको छ । सरकारी तथ्यांक अनुसार नेपालमा वार्षिक ३० लाख ८८ हजार टन आलु उत्पादन हुने गरेको छ । तर बाह्रै महिना आयात हुने तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए ।
यस्तै प्याज भने नेपालमा भारत र चीनबाट आयात हुने गरेको छ । यद्यपि, अघिल्लो वर्ष भने इस्ले अफ म्यान नामक मुलुकबाट समेत आयात भएको देखिन्छ । चालू आवको पाँच महिनामा भारतबाट २ अर्ब १९ करोडको प्याज आयात भएको छ । अघिल्लो आवमा भने भारतबाट ३ अर्ब ९ करोड, चीनबाट ५६ करोड ३६ लाख र इस्ले अफ म्यानबाट ११ लाख रुपैयाँको प्याज आयात भएको थियो ।
नेपालमा सबैभन्दा बढी गोलभेँडा भारतबाट आयात हुने गरेको छ । यद्यपि सानो परिमाणमा चीन, इटाली लगायत मुलुकबाट पनि गोलभेँडा आउने गरेको छ । भन्सार विभागका अनुसार गत पाँच महिनामा नेपालले भारतबाट २४ करोड रुपैयाँको गोलभेँडा आयात गरेको छ ।
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा ३५ लाख ८९ हजार रुपैयाँबराबरको २ लाख ५८ हजार केजी काउली आयात भएको छ । त्यस्तै, २ लाख ६० हजार रुपैयाँ बराबरको २३ हजार केजी बन्दा आयात भएको छ ।
स्याउ चीन, भारत, इटली, थाइल्यान्ड, नामिबिया र अमेरिकाबाट आयात हुन्छ । चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले चीनबाट १ अर्ब ३१ करोड, भारतबाट १ अर्ब २५ करोड, नामिबियाबाट ६९ हजार र इटलीबाट २ लाख ३९ हजार रुपैयाँको स्याउ आयात गरेको छ ।
यता नेपाली किसान उचित मूल्य र बजार नपाएको भन्दै सडकमै दूध पोख्न बाध्य छन् । बजारमा भने विश्वका थुप्रै मुलुकबाट पाउडर, क्रिम, लिक्विडलगायत विभिन्न रूपमा दूध आयात हुने गरेको छ । पछिल्ला पाँच महिनामा नेपालले ४४ करोड रुपैयाँबराबरको दूध आयात गरेको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया