काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सबै आदिवासीको माग सम्बोधन गर्न राज्यसँग माग गरेका छन् । काठमाडौंको टुँडिलेखमा आयोजित सोनाम ल्होछार कार्यक्रममा बोल्दैं राजपा अध्यक्ष मण्डलका पूर्व संयोजक समेत रहेका महतोले सिंहदरबारले तामाङहरुको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका हुन् ।
केही समय पहिलासम्म तामाङ विरोधका रुपमा चिनिएका महतोले यस्तो धारणा राखेका हुन् । तामाङ समुदायले हिजो राति कुकुर वर्षलाई बिदाइ गरी सुँगुर वर्षलाई स्वागत गरेर परम्पराअनुसार सोनाम ल्होछार पर्व मनाएका हुन् ।
चान्द्रमासअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन यो समुदायले सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाउने गरेका छन् ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५ औँ सोनाम ल्होछार हो । मञ्जुश्री पात्रो शुरु भएको २८५५ औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको उनीहरुको धारणा छ ।
मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ समुदायले माघ कृष्ण औँसीका दिन बेलुकी घर घरमा दीपावली गरी ल्होछारको नयाँ वर्षलाई स्वागत गर्छन् ।































प्रतिक्रिया