पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वरधामको ४२औं धार्मिक अनुष्ठान प्रारम्भ, पाँच लाख पर्यटक भित्र्याउने

पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वरधामको ४२औं धार्मिक अनुष्ठान प्रारम्भ, पाँच लाख पर्यटक भित्र्याउने

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धामको ४२ औं बार्षिक अनुष्ठानको प्रारम्भ भएको छ । विश्व प्रसिद्ध हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) र मंगलधाम कालिम्पोङका धर्मगुरु मोहन प्रियाचार्यले संयुक्तरुपमा शनिबार अनुष्ठानको उद्घाटन गरेका हुन् ।

अनुष्ठान प्रारम्भ हुनु पूर्व धाम परिसरबाट निस्किएको शोभायात्राले अर्जुनधारा नगर परिक्रमा गरेको थियो।

कार्यक्रममा प्रमुख अतिथि १००८ स्वामी कालीबाबाले अर्जुनधारा जलेश्वरधाम दिव्यस्थल र सिद्धक्षेत्र भएको बताउँदै यहाँ आउन पाउँदा आफूलाई अति गौरव र खुशी लागेको बताए । नेपालको ओखलढुङ्गामा जन्मिएका उनी उच्च शिक्षाका लागि दार्जिलिङतर्फ लागेका थिए, हाल उनी सिद्धि प्राप्त बाबाका रुपमा चिनिन्छन् ।

यसैगरी धर्मगुरु मोहनप्रियाचार्यले अर्जुनधारा जलेश्वरधामको महत्व पौराणिककालदेखि रहेको बताउँदै हिन्दूराष्ट्र कायम गर्न आग्रहसमेत गरे ।

साथै कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, नेपाल सरकारका पूर्वअर्थमन्त्री महेश आचार्य, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीको अध्यक्षतामा सम्पन्न अनुष्ठान समुद्घाटन कार्यक्रममा अर्जुनधारा संस्कृत गुरुकुलका वटुक छत्रपति गुरागाईंले संस्कृत भाषामा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार आगामी मंसिर १५ गतेसम्म चल्ने यस महायज्ञमा पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

विसं २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ । धाममा १०८ आचार्य ब्राम्हणद्वारा श्रीमद्भावगतसहित हवनात्मक महायज्ञ गरिनेछ । अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य कुवेर सुवेदीको व्यासत्वमा हुने महायज्ञमा मूल अर्चक अग्निप्रसाद सिग्देल सहआचार्य रहनेछन्। अनुष्ठानबाट संकलित रकमले ५० लाख रहेको अक्षयकोषलाई २ करोड पुर्याउने लक्ष्य राखिएको छ ।

Logo