काठमाडौं । नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक गरिएकाे छ ।
राजधानीमा आयाेजित विशेष कार्यक्रमबीच लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक गरिएकाे हाे । कार्यक्रममा प्रमुख अतिथिका रूपमा गृहमन्त्री रमेश लेखकको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा युवा तथा खेलकुदमन्त्री तेजु लाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, कमल कुमार बेगानी, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा, अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द कुमार झा र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षण नेपाल कबड्डी लिगको लोगो सार्वजनिक गर्ने क्षण थियो। प्रमुख अतिथि गृहमन्त्री लेखकले रिमोट थिचेर लोगो उद्घाटन गरे । लोगो सार्वजनिकसँगै फ्रेन्चाइज शहरहरूको नाम पनि सार्वजनिक गरियो। नेपाल कबड्डी लिगको पहिलो संस्करणका लागि छ वटा फ्रान्चाइज शहरहरूको नाम सार्वजनिक गरिएको छ । ती शहरहरू हुन् काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी र बुटवल।
लोगो सार्वजनिक कार्यक्रममा बोल्दै एस्ट्रियोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेगानीले भने, “हामी लगभग एक वर्षपछि लोगो सार्वजनिक गर्दैछौं, यो क्षणका लागि म अत्यन्तै उत्साहित छु। यो लिग नेपाली खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।”
कबड्डी लिगको यो घोषणा र कार्यक्रमले नेपाली खेलकुद क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको संकेत गरेको छ।
गृहमन्त्री लेखकले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भने, “म यो खेलको ठुलो प्रशंसक हुँ। जब म हुर्किरहेको थिएँ, त्यतिबेला अरू खेलहरू उपलब्ध थिएनन्, र कबड्डी नै मेरो पहिलो खेल थियो। मैले खेलको सुरुवात यहीबाट गरेको हुँ। नेपाल कबड्डी लिगलाई म हार्दिक शुभकामना दिन चाहन्छु।”
अन्त्यतिर, कार्यक्रमका होस्टले ट्रफी प्रस्तुत गर्दै सबैलाई चकित पारेका थिए । गृहमन्त्री लेखक, खेलकुदमन्त्री चौधरीसहित अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र एस्ट्रियोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेगानीद्वारा ट्रफीको अनावरण गरिएको थियो । यस ट्रफीलाई “युनिटी ट्रफी”नाम दिइएको छ। यो ट्रफी नेपालकै समृद्ध विविधता र संस्कृतिको प्रतीकका रूपमा डिजाइन गरिएको विशेष सरप्राइज थियो।





























प्रतिक्रिया