जेलेन्स्कीले पठाए पुटिनलाई खुल्लापत्र, प्रत्यक्ष संवाद गर्न आग्रह

जेलेन्स्कीले पठाए पुटिनलाई खुल्लापत्र, प्रत्यक्ष संवाद गर्न आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरेका छन्। पुटिनलाई लेखिएको खुला पत्रमा जेलेन्स्कीले युक्रेन र रुसबीचको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उल्लेख गरेका छन्।

१,८०० शब्दभन्दा लामो पत्रमा उनले प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्धविराम लागू गर्न पनि आग्रह गरेका छन्। तर पुटिनले बिहीबार नै यस्तो प्रस्ताव अस्वीकार गरिसकेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने दुवै नेता भेटे ‘अत्यन्त राम्रो हुने’ बताएका छन्। ‘उनीहरू भेटे राम्रो हुन्छ। उनीहरूले भेट्नुपर्छ र यो विषय टुंग्याउनुपर्छ,’ ट्रम्पले भनेका छन्।

क्रेमलिनले पत्र प्राप्त भएको पुष्टि गर्दै पुटिनलाई पत्रबारे जानकारी गराइने जनाएको छ। जेलेन्स्कीले पत्रमा हालै युक्रेनले रुसी भूमिमा गरेका आक्रमणहरूको उल्लेख गर्दै पुटिनको आलोचना गरेका छन्। ‘युक्रेन यो युद्ध हामी र तपाईंबीचको प्रत्यक्ष संवादमार्फत अन्त्य गर्न प्रस्ताव गर्छ,’ जेलेन्स्कीले लेखेका छन्, ‘म भेटवार्ताको प्रस्ताव राख्छु।’

यो प्रस्ताव नयाँ भने होइन। यसअघि पनि जेलेन्स्कीले यस्तै प्रस्ताव गरेका थिए। त्यसको जवाफमा क्रेमलिनले जेलेन्स्कीलाई मस्कोमा आएर पुटिनसँग भेटेमा स्वागत गर्ने बताएको थियो। पत्रमा जेलेन्स्कीले अमेरिका फेरि युरोपको युद्धतर्फ पूर्ण रूपमा केन्द्रित हुने प्रतीक्षा गरेर बस्नु ‘गलत’ हुने बताएका छन्। ‘युरोपको युद्ध फेरि अमेरिकी ध्यानको केन्द्रमा फर्किने प्रतीक्षा मात्र गर्नु उचित हुँदैन,’ उनले लेखेका छन्।

सेन्ट पिटर्सबर्गमा विदेशी पत्रकारहरूसँग कुरा गर्दै पुटिनले आफू युक्रेनसँग सहमति गर्न तयार रहेको बताए पनि त्यसका लागि ‘सम्झौता’ आवश्यक पर्ने बताएका छन्। युक्रेनले रुसले आंशिक रूपमा नियन्त्रण गरिरहेका डोनेट्स्क, लुहान्स्क, खेरसोन र जापोरिझ्झिया क्षेत्रबाट आफ्नो दाबी फिर्ता लिनुपर्ने र नेटोमा आबद्ध हुने प्रयास त्याग्नुपर्ने पुटिनको अडान छ।

युक्रेनले भने कुनै पनि भूभाग त्याग्न अस्वीकार गर्दै आएको छ। कीभका अनुसार त्यसो गर्दा रुसलाई भविष्यमा फेरि आक्रमण गर्न प्रोत्साहन मिल्नेछ।

Logo