राष्ट्रबैंकले दुई अर्ब ४६ करोड मुद्दती निक्षेपमा राख्ने

राष्ट्रबैंकले दुई अर्ब ४६ करोड मुद्दती निक्षेपमा राख्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल राष्ट्र बैंकले दुई अर्ब ४६ करोड ८७ लाख बराबरको रकम बैंकमा एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ ।

बैंकले आइतबार एक सूचनामार्फत २०७५ फागुन १ गतेदेखि २०७६ माघ २९ गतेसम्मका लागि सो रकम मुद्दतीमा राख्न लागेको जनाएको छ । केन्द्रीय बैंकले  ‘क’ वर्गका वाणिज्य बैंकमा दुई अर्ब छ करोड ८७ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३० करोड र  ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १० करोड बराबरको निक्षेप मुद्दतीमा राख्न लागेको छ ।

बैंकले रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष भएको हुनुपर्ने, न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटीका पाँच प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा निक्षेप र पूँजी अनुपात बैंकले निर्धारण गरेको सीमाभित्र रहेको र अघिल्लो आवमा मुनाफा हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

यस्तै रियल स्टेट कर्जा बैंकको तोकिएको सीमाभन्दा बढी नभएको बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक वा कार्यकारी सञ्चालकलाई कुनै पनि कारवाही नभएको, समस्याग्रस्त घोषणा नभएको र सर्वसाधारणका लागि छुट्याइएको शेयर बिक्री भएको हुनुपर्ने शर्त राखिएको छ । ती शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थाले माघ २३ गतेसम्ममा आवेदन दिन आग्रह गरिएको छ । राष्ट्र बैंकले आफूले लिन चाहेको रकम र ब्याजसमेत उल्लेख गरी आवेदन दिन आग्रह गरेको छ ।

रासस

Skip This
Skip This
Logo