देशको अर्थतन्त्र सोचनीय अवस्थामा : व्यापार घाटा बढ्यो

देशको अर्थतन्त्र सोचनीय अवस्थामा : व्यापार घाटा बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अहिले मुलुकको अर्थतन्त्रमा माग तथा आपूर्तिको चक्रसमेत प्रभावित भएको उद्योगीहरू बताउँछन् । अहिले बजारमा थुप्रै उपभोग्य तथा निर्माण सामग्रीको मागसमेत घटेको उद्योगीहरूको भनाइ छ ।

बजेटले मोबाइल लगायत थुप्रै वस्तुले पाउँदै आएको भ्याट फिर्तालाई खारेज गरिदिएको छ । यसले मोबाइल आयात तथा व्यापार प्रभावित भएको व्यापारीहरू बताउँछन् । अटोमोबाइल ऋणमा लगाइएको क्यापका कारण आयात प्रभावित भएको छ ।

फलामे छड, आल्मुनियम लगायत केही निर्माणजन्य साम्रगीको व्यापारसमेत घटेको छ । ‘अनुकूल व्यावसायिक वातावरण भएका वेला पनि उद्योग–व्यवसाय उत्साहप्रद हुन सकेको छैन,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने ।

केन्द्रीय बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा दर्जनभन्दा बढी औद्योगिक वस्तुको उत्पादन ४ प्रतिशतदेखि ८९ प्रतिशतसम्मले घटेको छ । औद्योगिक वातावरण अनुकूल बन्दै गइरहेका वेला औद्योगिक उत्पादन भने घटेको सरकारी तथ्यांकले देखाएको छ । समीक्षा वर्षमा प्रशोधित छालाकोे उत्पादन ८९.७ प्रतिशतले, चामल ६५.८ प्रतिशतले, चिरेको काठको उत्पादन १.५ प्रतिशतले, कागजको उत्पादन २.५ प्रतिशतले र रोजिनको उत्पादन ४२.९ प्रतिशतले घटेको छ । त्यस्तै, प्लास्टिकको उत्पादन ७.९ प्रतिशत, आल्मुनियम उत्पादन १३.८ प्रतिशतले र जुत्ताको उत्पादनमा ४.७ प्रतिशतले ह्रास आएको छ । सोहि अवधिमा जीआई तारको उत्पादन २१.८ प्रतिशतले घट्न गएको छ भने वनस्पती घ्यू तथा तेल समूहको उत्पादनमा १९.१प्रतिशतले ह्रास आएको छ ।

बढ्दो उपभोग प्रवृत्तिसँगै आयात बढेको छ, तर निर्यातको वृद्धिदर भने सन्तोषजनक छैन । आर्थिक वर्ष ०७५/७६ को पाँच महिनामा कुल वस्तु निर्यात ११.२ प्रतिशतले वृद्धि भई ३७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.१ प्रतिशतले वृद्धि भएकोे थियो । कुल वस्तु आयात भने ३४.२ प्रतिशतले बढेर ६ खर्ब ७ अर्ब पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा १८.२ प्रतिशतले बढेको थियो । निर्यातको तुलनामा आयात उच्च हुँदा व्यापार घाटा अकासिएको छ । पाँच महिनामा कुल वस्तु व्यापार घाटा ३६.१ प्रतिशतले बढेर ५ खर्ब ६९ अर्ब ४९ करोड पुगेको छ । निर्यात–आयात अनुपात ६.२ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त अनुपात ७.५ प्रतिशत थियो ।

बाह्य क्षेत्र कमजोर बन्दै गएपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ । लक्जरी गाडी, सुनचाँदी, मदिरा, कस्मेटिक्स, मोबाइल लगायत विद्युतीय सामग्री लगायतको आयातलाई निरुत्साहित गर्ने तयारी गरिरहेको अर्थ मन्त्रालयका सल्लाहकार रामशरण खरेलले बताए ।
नयाँ पत्रिकाबाट

Logo