सल्लाको रुखमा बिजुलीको तार, ज्यालादारी कर्मचारीको राज

सल्लाको रुखमा बिजुलीको तार, ज्यालादारी कर्मचारीको राज

केन्द्रबिन्दु
0
Shares

(रामजी बलामी)

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण सुधारेर सफल व्यवस्थापकको पहिचान बनाए । तर, तिनै प्राधिकरणको वितरण केन्द्र मकवानपुरको पालुङ शाखाले उनको अथक परिश्रमबाट बनेको पहिचानमा दाग लगाईरहेको छ ।

नमुना १

गत माघ ९ गते मकवानपुरको फाखेलमा करेन्ट लागेर स्थानीय रामकृष्ण कार्की गम्भीर घाइते भए । इन्द्रसरोवर गाउँपालिका ५ निवासी कार्कीले बाटोको लत्रेको तार हटाउँन लाग्दा करेन्ट लागेको थियो । उनको हात, खुट्टा, ढाड लगायतका शरिरका अन्य भागहरु जलेका छन् । हाल उनको काठमाडौंमा उपचार भईरहेको छ । स्थानीयका अनुसार प्राधिकरणका स्थानीय नो लाइट शाखा र पालुङ शाखामा पटक पटक गुनासो गर्दा पनि तार व्यवस्थापनमा चासो नदिँदा उक्त घटना हुन पुग्यो । अहिले उनीहरुले क्षतिपूर्तिको माग गरिरहेका छन् ।

नमुना २

थाहा नगरपालिका ४ दुइघरेमा प्राधिकरणको अर्काे मनोमानी देखिन्छ । बिजुलीको तार सल्लाको रुखमा अड्काएर अन्यत्र लगिएको छ (हेर्नुहोस् फोटो) । यस बारेमा वडाध्यक्ष दीपकसिंह लामाले आफूलाई केही थाहा नभएको बताए । त्यस्तै दामनस्थित पानोरमा रिसोर्ट नजिक पनि हाइभोल्टेजको तार यस्तै किसिमले राखिएको छ (हेर्नुहोस् फोटो) ।

सडकमै यसरी हाइभोल्टेजको धराप थापेपछि स्थानीयले पटक पटक प्राधिकरणमा गुनासो गरे । तर पनि प्राधिकरणले त्यसको व्यवस्थापनमा कुनै चासो देखाएको छैन । प्राधिकरण पालुङ वितरण शाखाका प्रमुख सन्तोष पन्तले भने यसबारेमा आफूलाई कुनै जानकारी नै नभएको बताए । “यस बारेमा मलाई जानकारी नै छैन, मलाई सम्पर्क गराई दिनुहोस् ।” पन्तले भने ।

 

नमुना ३

प्राधिकरणले थाहा नगरपालिका ११ टिष्टुङ महांकालका ग्राहकहरुको गत असारदेखि मिटररिडिङ गरेको छैन । तर अचम्म त के छ भने बिजुलीको बिल तिर्न आउने ग्राहकसँग भने प्राधिकरणले नियमितरुपमा जरिवाना असुलिरहेका छन् । गल्ती प्राधिकरणले गर्ने तर जरिवाना भने उपभोक्ताले तिर्नुपर्ने विडम्वना छ । यो क्षेत्रमा करिव १५० घरधुरी रहेका छन् । यस विषयमा प्राधिकरण पालुङ वितरण शाखाका प्रमुख सन्तोष पन्तले केही महिना मिटर रिडिङ गर्न छुटेको स्विकार गरे । उनले अब नियमितरुपमा मिटर रिडिङ हुने जानकारी दिए ।

देहायमा नमुनाहरु केही उदाहरण मात्रै हुन् । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ वितरण शाखाको मनोमानी यतिमै सिमित भने छैन ।

गत भदौ २५ गते बसेको नेपाल विद्युत प्राधिकरणको बैठकले मिटर रिडर बाहेक सबै कर्मचारीले दिनको दुई पटक हाजिर गर्नुपर्ने व्यवस्था ल्याएको छ । प्राधिकरण कर्मचारी सेवा विनियमावली अनुसार प्राधिकरणका कर्मचारीले कार्यालय खुलेको दिन कार्यालय आएको र गएको समयसहितको हाजिर गर्नुपर्ने हुन्छ । तर शाखा कार्यालय पालुङमा भने मनोमानी हाजिर गर्ने र ओभरटाइम पारिश्रमिकका लागि हाजिर गर्ने प्रवृति बढ्दो छ ।

यो वितरण शाखाले उत्तरी महवानपुरको थाहा नगरपालिकासहित ईन्द्र सरोवर गाउँपालिका, भिमफेदी गाउँपालिका र कैलाश गाउँपालिकामा बिद्युत व्यवस्थापनको काम गर्छ । त्यसो त प्राधिकरणकै सुस्तताकै कारण करिव २ करोड रुपैंया भन्दा बढी रकम बक्यौता उठ्न बाँकी छ । यस वितरण केन्द्र अन्तर्गत करिव १२ हजार ग्राहक रहेका छन् ।

वितरण केन्द्रको अत्याचारी सहन नसकेर केही समयअघि कैलास गाउँपालिकाका वडा नम्वर ५ र ६ का स्थानीयले गाडी नै रिजर्भ गरेर प्राधिकरण घेराउ गर्न पुगेका थिए । झण्डै एक महिनासम्म विद्युत आपूर्ती नभएपछि स्थानीयले पटक पटक गुनासो गरे तर प्राधिकरणले अटेर गरेपछि उनीहरु प्राधिकरणमा डेलिगेसन गएका हुन् ।

विद्युतको बिग्रेको पोल फेर्ने काम प्राधिकरणको हो । तर, यसमा पनि स्थानीयले खर्च गर्नुपर्छ । पोल फेर्नका लागि पोल लैजाने ज्याला, खाल्डो खन्ने ज्याला र फिटिङ ज्याला स्थानीयले व्यहोर्नुपर्छ । यसरी स्थानीयले खर्च ब्यहोर्दैमा प्राधिकरणको पैसा बचत हुने होईन । कर्मचारीहरुले यसवापत लाग्ने रकम प्राधिकरणबाट पनि असुल गर्छन् ।

फोन र सवारीसाधनको दुरुपयोग

केही समयअघि मकवानपुर विद्युत प्राधिकरणका कर्मचारीहरुले कार्यालयको सवारीसाधन नै चढेर पिकनिकमा पुगे । हेटौडाको त्रिखण्डीमा भएको पिकनिक कार्यक्रममा पालुङ शाखाको गाडी पनि थियो । कर्मचारीले प्राधिकरणको सवारीसाधनहरु घरायसी सामान ओसारपसारमा प्रयोग गर्नु सामान्य भएको नाम उल्लेख नगर्ने सर्तमा कार्यालयमै कार्यारत कर्मचारीहरु बताउँछन् ।

करिव ८ महिनाअघि मात्रै यस वितरण केन्द्रमा आएका कार्यालय प्रमुख सन्तोष पन्त प्राय फिल्डमा खटिन्छन् । यसको मौका त्यहाँका केही कर्मचारीहरुले उठाउँदै आएका छन् । कार्यालयको फोनमा घण्टौसम्म कर्मचारीको रजाँई चल्छ । स्रोतका अनुसार थ्री फेज लाइनका लागि अतिरिक्त रकम नतिरेसम्म ग्राहकलाई अनुमति नै दिइदैन । प्राधिकरणको पछिल्लो निर्देशन अनुसार सिंगल फेज लाइन ७ दिनभित्र र थ्री फेज लाइन १५ दिनभित्र जडान गरिसक्नुपर्छ ।

त्यस्तै प्राधिकरणमा कर्मचारीहरुबीच नै ठूलो मनमुताव छ । लामो समयदेखि कार्यरत ज्यालादारी कर्मचारी राजु पोखरेलले शिक्षामन्त्री गिरीराजमणि पोखरेलको हवाला दिँदै अन्य कर्मचारीहरुलाई चेपुवामा पार्दै आएको कर्मचारीहरुको दावी छ । पोखरेलले प्राधिकरणको क्षेत्रिय कार्यालय हेटौडाका उच्च पदस्थ कर्मचारी र मन्त्री पोखरेलको हवाला दिँदै हष्तक्षेप गर्न थालेपछि कार्यालयका अन्य कर्मचारीहरु निरश छन् । यसले गर्दा पनि प्राधिकरणको काममा अवरोध हुँदै आएको छ ।

पोखरेलका अगाडि तत्कालिन कार्यालय प्रमुख दयाराम साहदेखि वर्तमान कार्यालय प्रमुख पन्त समेत निरिह देखिएको कर्मचारीहरुको आरोप छ ।

अपर्झट तर नियमित ‘लोडसेडिङ’

नेपाल विद्युत प्राधिकरणका निर्देशक घिसिङले देशमा लोडसेडिङ अन्त्य भएको घोषण गरिसकेका छन् । तर, विडम्वना कुलेखानी जलविद्युत आयोजना रहेको यस क्षेत्रमा नियमित ‘लोडसेडिङ’ हुँदै आएको छ ।

पालुङ वितरण केन्द्र अन्तर्गतका अधिकांश ठाउँमा अपर्झट कुनै पनि बेला बत्ती कात्तिने समस्या रहेको स्थानीयको गुनासो छ । केही दिनअघि दिउँ पर्दा दामन आसपासका क्षेत्रमा ३ दिनसम्म लोडसेडिङ भएको थियो । वितरण शाखा पालुङले यसरी बत्ती जानुमा मार्खु र थानकोट सब स्टेशनलाई दोषी देखाउदै आएको छ ।

के छ प्रावधान ?

नेपाल विद्युत प्राधिकरणले गत पुस ९ गते मातहतका सबै कार्यालयलाई परिपत्र जारी गर्दै ग्राहक सेवा प्रतिवद्धता टाँस गर्न आग्रह गरेको थियो । जस अनुसार नयाँ मिटर जडान गर्दा सिंगल फेज लाइन ७ दिनभित्र, थ्री फेज लाइन १५ दिनभित्र र टीओडी लाइन ३० दिनभित्र जडान गरिसक्नु पर्नेछ ।

त्यस्तै मिटर बिग्रेमा वा जलेमा सिंगल फेज लाइन १ दिनभित्र, थ्री फेज लाइन ३ दिनभित्र र टीओडी लाइन १० दिनभित्र बनाई सक्नु पर्नेछ । त्यस्तै लाइन बिग्रेमा १२ बजेसम्म जानकारी गराएमा सोही दिन बनाई सक्नु पर्नेछ भने त्यसपछि आएको जानकारीमा भोलिपल्ट बनाई सक्नु पर्नेछ । मिटर रिडिङ तथा बिल सम्बन्धी समस्या आएमा १२ बजेसम्म जानकारी आएमा सोही दिन र तत्पश्चात जानकारी आएमा भोलिपल्ट समाधान गरि सक्नुपर्ने व्यवस्था छ ।

 

Skip This
Skip This
Logo